२०८० चैत्र १५ गते बिहिवार

धनुषाको राजदेवी मन्दिरमा दिइयो १४ हजार बोकाको बली




२८ आश्विन
यहाँस्थित जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १४ हजारभन्दा बढी बोकाको बली दिइएको छ । महाअष्टमी तथा महानवमीका अवसरबुधबार राति ८ देखि नै उक्त बलि दिइएको हो । बिहीबार बिहान साढे ३ बजेसम्म १४ हजार २४१ बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हरेक वर्ष दशैँका बेला यस मन्दिरमा ठूलो संख्यामा बलि दिने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकका कुलदेवता मानिने राजदेवी मन्दिरमा महाअष्टमी तिथिको राति हरेक वर्ष नै ठूलो संख्यामा बलि दिने गरिन्छ ।

गत वर्ष भने कोरोना महामारीका कारण बलि कम थियो । गत वर्ष ८ हजार ९६८ बोकाको बलि दिइएकोमा त्यसको अघिल्लो साल अर्थात् २०७६ को दशैँका बेला भने १४ हजार ६३३ बोकाको बलि दिइएको थियो । यस मन्दिरमा वर्षभरिमा एकपटक मात्र बोका बलि दिने गरिन्छ । २०७५ मा पनि १४ हजार ९ सय ९७ बोकको बलि प्रदान गरिएको थियो ।

बलि प्रदानपूर्व राजदेवीको विशेष पूजा गरिएको थियो । बलिपूर्व सशस्त्र प्रहरीले बन्दूक पडकाएर सलामी समेत दिएपछि गएको राति ८ बजे देखि विहान ३ बजेसम्म बोका बलि कार्यक्रम संचालन भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार