
असोज २६।
जर्मनी आगामी वर्ष कतारमा हुने विश्वकपका लागि छनोट भएको छ । सोमबार राति नर्थ म्याकाडोनियामाथि ४–० गोलान्तरको फराकिलो जित निकाल्दै जर्मनी सन् २०२२ को विश्वकपमा छनोट हुने पहिलो राष्ट्र बनेको छ ।
म्याकाडोनियाको मैदानमा जर्मनीलाई जिताउन टिमो वेर्नरले दुई गोल गरे भेन काइ हाभर्ट्ज र जमल मुसियालाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५०औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए ।
७०औँ मिनेट र ७३औँ मिनेटमा वेर्नरले गोल गर्दै जर्मनीको अग्रता तेब्बर बनाउँदा मुसियालाले ८३औँ मिनेटमा गोल गरेर जर्मनीलाई ४–० गोलको जित दिलाए ।
यससँगै समूह ‘जे’को विजेता बन्दै जर्मनी विश्वकपमा छनोट भएको हो । शीर्ष स्थानको जर्मनीले आठ खेलमा २१ अङ्क जोड्यो । म्याकाडोनिया भने १२ अङ्कका साथ तेस्रो स्थानमा छ ।
प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार