२०८२ जेष्ठ ३० गते शुक्रवार

साफ च्याम्पियनसिप अङ्कतालिकाको शीर्ष स्थानमा नेपाल,



असोज १९ ।

माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–२ गोलान्तरको जित निकालेको छ । खेलको पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

श्रीलङ्काका लागि ५६औँ मिनेटमा ह्यामिलटनले गोल गर्दै खेलमा फर्कने सङ्केत गरे पनि त्यो अपुग रह्यो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले समान एक–एक गोल गरेका थिए ।
निर्धारित ९० मिनेट खेल सकिएसँगै थप गरिएको पाँच मिनेटको दोस्रो मिनेटमा श्रीलङ्काले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरमा श्रीलङ्काका डी सिल्भाले गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गरेका थिए ।

जितसँगै नेपाल जारी साफ च्याम्पियनसिपको अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो पहिलो खेलमा आयोजक माल्दिभसविरुद्ध १–० गोलान्तरको जित निकाल्दै स्पष्ट तीन अङ्क बटुलेको नेपाल दोस्रो खेलमा पनि जित निकालेसँगै ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार