२०८० चैत्र १६ गते शुक्रवार

दाङमा प्रहरीले बरामद गरेको कस्तुरीको बिनामा बाहिर बाख्रा छाला र भित्र अगरबत्तिको धुप




दाङ —

प्रहरीले दाङमा पक्राउ गरेको भनिएको बहुमुल्य प्रतिबन्धित कस्तुरीको बिनाको बाहिर बाख्राको छाला रहेको पुस्ट्रि भएको छ । विधि प्रयोगशालामा बरामद गरिएको कस्तुरी बिना परिक्षण गर्दा कस्तुरी बिना भनिएकोको बाहिरी भाग बाख्राको छाला र भित्र अगरबत्तिको धुपवाला सामग्रि भेटिएको जिल्ला सरकारी वकिल कार्यालय दाङले जनाएको छ । बरामद गरिएको कस्तुरी बिना खरिद बिक्रि नभएकाले सरकारी वकिल कार्यालयले मुद्धा नचल्ने निर्णय गरेर महान्याधीबक्ता कार्यालयमा सिफारीस गरेको जिल्ला सरकारी कार्यालयका सह न्यायाधीबक्ता ढकबहादुर रावतले बताए । मुद्ध नचल्ने भएपछि प्रहरीले कस्तुरीको बिना भनेर पक्राउ परेका करिब एक महिनाको हिरासत बसाइपछि छुटेका छन । उनले केन्द्रबाट हुने निर्णय अनुसार यो बारेमा निर्णय हुने बताए ।


घोराही उपमहानगरपालिका–१५ सहिदगेटस्थित एक होटलमा कस्तुरीको बिना बिक्रीका लागि मोलमोलाइ भइरहेको सूचना पाएपछि प्रहरीले पत्रकार सम्मेलन गरेर गएको भदौ ७ गते साँझ ३१ ग्राम २ सय मिलिग्राम तौलको बिनासहित दुई जनालाई पक्राउ गरेको कुरा उपलब्धिकोरुपमा सार्बजनिक गरेको थियो ।


घोराही–७ का ३३ वर्षीय मोहन बुढा र घोराही–१ का २२ वर्षीय मदन केसीलाई बिनासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताएका थिए । प्रहरीले कस्तुरीको बिनासहित पक्राउ गरेको दाबी गर्दै थप अनुसन्धानका लागि डिभिजन बन कार्यालयमा बुझाएको थियो । प्रहरीले कस्तुरीको बिनासहित केही ब्यक्तिलाइ पक्राउ गरेर सार्बजनिक गर्नु र अनुसन्धानकाक्रममा नक्कलि भेटिएपछि यो बिषयले हङ्गामा भएको छ । प्रहरीले अनुसन्धान नै नगरी ब्यक्तिलाइ नियन्त्रणमा लिएर सार्बजनिक गर्न हतार गर्नुले प्रहरीको अनुसन्धान नै कमजोर रहेको यो घटनाले थप पुष्टि गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपि काफ्लेले कस्तुरीको बिना नै प्रहरीले पक्राउ गरेर बन कार्यालयलाई बुझाएको र अरु थप अनुसन्धान गर्ने जिम्मा बन कार्यालयको भएकाले उक्त कार्यालयलाई धेरै कुरा थाहा हुने बताए । प्रहरीको कमजोर अनुसन्धानले अनाहकमा नागरिकले केही समय हिरासतमा बसेर दुख समेत पाएका छन ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार