२०८१ माघ २४ गते शुक्रवार

रोनाल्डोको गोलमा युनाइटेडको पहिलो जित: च्याम्पियन्स लिग अपडेट



असोज १४।

युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले पहिलो जित दर्ता गरेको छ । बुधबार समूह चरणका दोस्रो खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २–१ गोलले हराएको हो ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा घरेलु टिमलाई जिताउन एलेक्स टेल्लेस र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे । भिल्लारियलका पाको अल्कासरले एक गोल गरे । भिल्लारियलले बनाएको अग्रता उल्टाउँदै युनाइटेडले जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५३औँ मिनेटमा अल्कासरले गोल गर्दै भिल्लारियललाई सुरुआती अग्रता दिलाएका थिए ।

६०औँ मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा टेल्लेस गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । जेसे लिङ्गार्डको पासमा खेलको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

जितसँगै समूह ‘एफ’को युनाइटेडले तीन अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले पहिलो खेलमा योङ्ग ब्वाइजसँग पराजय बेहोरेको थियो । भिल्लारियलसँग भने एक अङ्क छ । सोही समूहको योङ्ग ब्वाइजमाथि अटलान्टाले जित निकालेको छ ।

साविक विजेता चेल्सीलाई युभेन्टसले हरायो

युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता चेल्सीलाई इटालियन क्लब युभेन्टसले हराएको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा युभेन्टसले घरेलु मैदानमा चेल्सीलाई १–० गोलले हराएको हो ।

युभेन्टसको जितमा घरेलु टिमलाई जिताउन फेडेरिको चिसाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औँ मिनेटमा चिसाले गरेको गोल नै युभेन्टसको जितमा पर्याप्त बन्यो ।
जितसँगै युभेन्टस दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लियो । चेल्सी भने तीन अङ्कसहित दोस्रो स्थानमा छ । सोही समूहअन्तर्गत गए राति भएको अर्को खेलमा जेनितले माल्मोमाथि ४–० गोलको सानदार जित निकाल्यो ।

त्यसै गरि बार्सिलोना ६० वर्षपछि बेन्फिकासँग हार्‍यो

युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार समूह चरणको दोस्रो खेल खेलेको बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग ३–० गोलान्तरले हारेको हो ।

बार्सिलोना ६० वर्षपछि बेन्फिकासँग हारेको हो । यसअघि सन् १९६१ बार्सिलोना बेन्फिकासँग पराजित भएको थियो । गए राति १० खेलाडीमा सीमित रहेको बार्सिलोना बेन्फिकासँग स्तब्ध बन्यो ।
बेन्फिकालाई जिताउन डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे । खेलको तेस्रो मिनेटमा नै नुनेजले गोल गर्दै बेन्फिकालाई सुरुआती अग्रता दिलाएका थिए ।

६९औँ मिनेटमा सिल्भाले गोल गर्दै बेन्फिकालाई २–० गोलको अग्रता दिलाए । ७९औँ मिनेटमा बेन्फिकाले पेनाल्टी पाएको थियो । जसमा नुनेजले गोल गर्दै घरेलु टिमको अग्रता तेब्बर बनाए ।

खेलको ८७औँ मिनेटमा इरिक गार्सियाले पहेँलो कार्डसहित रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित बन्न पुगेको थियो ।

जितसँगै समूह ‘ई’को चौथो स्थानमा रहेको बेन्फिकाले चार अङ्क जोडेको छ । बार्सिलोना भने अङ्कविहीन रहँदै पुछारमा छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार