२०८० जेष्ठ १९ गते शुक्रवार

राजनीतिमा युवा कि सचेत युवा _राप्ती सञ्चार




दिपक पाेखरेल

असाेज ०७.दाङ माओले भनेका थिए, ‘युवाहरू यो देश तिमीहरूको हो, यो देश हाम्रो पनि हो तर अन्तिममा यो देश तिमीहरूको नै हो ।’ आफैँ कुनै बेला कुनै कारणले नेपालमा माओवादी लहर हुँदा कुनै तहको ‘माओवादी’ शुभेच्छुक रहेकाले यो वाक्य झलझल्ती सम्झिरहन्छु । माओको सिद्धान्तलाई आदर्श मान्नेहरूले नै युवावर्गलाई केवल आफ्नो राजनीतिक स्वार्थ पूर्तिको खुट्किलो बनाएकोमा निकै दु:ख लाग्छ ।

माओले भनेझैँ देश युवाहरूको नै हो र देश बनाउने जिम्मा पनि युवाहरूको नै हो । देशको हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहास हेर्ने हो भने परिवर्तनका हरेक इतिहासमा युवाहरूको भूमिका अग्रस्थानमै रहेको पाइन्छ ।

हिजोको पुस्ता राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लड्न डराएको भए वा चुकेका भए आज हाम्रो पुस्ताले लोकतन्त्रको महसुस गर्न पाउने थिएन । यो उपलब्धिको उपभोग गरिरहँदा त्यो संघर्ष र योगदानको सम्मान गर्नु हाम्रो दायित्व हुन आउँछ । तर, हजारौँको योगदान र बलिदानबाट लामो संघर्षपश्चात् आएको लोकतन्त्र आज सत्तामोहले गिजोलेका निर्वाचित तानाशाहहरूका कारण धरापमा परेको छ ।

संसारका परपक्व भनिने लोकतन्त्रमा पनि यस्ता संकट हरेक पटक आइरहन्छन् भने हाम्रो काँचो लोकतन्त्रमा आउनु अस्वाभाविक होइन् । अब यस्ता तानाशाह मात्र होइन, हरेक प्रतिगामी प्रवृत्तिबाट यो व्यवस्थालाई जोगाउने जिम्मा हाम्रो पुस्ताको हो ।

हामीले व्यवस्था परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अब छैन, किनकि लोकतान्त्रिक व्यवस्था नै सबैभन्दा उन्नत व्यवस्था हो । यही व्यवस्थामा सबै नागरिकलाई समानता र समृद्धि सम्भव छ । यसमा सामयिक सुधार र परिमार्जन त जरुरी हुन्छ नै । अब हाम्रो संघर्ष यो व्यवस्था बचाउन र यसलाई अझ उन्नत बनाउनतर्फ केन्द्रित हुनपर्छ । अब हाम्रो राजनीतिक एजेन्डा नागरिकको अवस्था परिवर्तन गर्ने खालको हुनुपर्छ । लोकतन्त्रमा नागरिक नै सबैभन्दा ठूला शक्तिकेन्द्र हुन् भन्ने थाहा हुँदाहुँदै नागरिक आवाज दबाउन लागिपरेका स्वघोषित ‘वादशाह’लाई पाखा लगाउनतर्फ हामी अघि बढ्नुपर्छ ।

हुन त “आउटडेटेड र भ्रष्ट” नेतृत्वबाट देशले निकास पाउन सकेन, युवा राजनीतिमा आउन पर्‍यो भनेर हामीले भनिरहँदा राजनीतिमा कस्ता युवाको आवश्यकता छ भन्नेतर्फ सोचिएन भने पनि समस्या आउँछ ।
हाम्रो देशको राजनीतिमा युवा मात्र होइन, सचेत र सक्षम युवाको खाँचो छ । युवा राजनीतिमा आउँदैमा देश बनिहाल्ने त होइन । तर, देश बन्नका लागि सचेत युवा राजनीतिमा आउन जरुरी छ । युवा हुनका लागि युवा उमेर, जोस, बल र ऊर्जा भए पुग्छ होला । तर, सचेत युवा हुनका लागि, युवा उमेर, जोस, बलले मात्र पुग्दैन । विचारमा नयाँपन, अध्ययनशील, वैचारिक, तार्किक, देशप्रति जिम्मेवार र कर्तव्यनिष्ठ हुन आवश्यक छ ।

के अहिलेको युवावर्ग देशप्रति सचेत छ ? यो अहिलेको गम्भीर प्रश्न हो । युवावर्गमा पनि हल्लाको पछि, भीडको पछि दौडिनेकाे संख्या धेरै छ । ठूला/पुराना दलका कुनै नेताको आमसभामा लाखौँको संख्यामा उपस्थित हुन सक्ने युवा जमातहरू, उखु किसानको आन्दोलनमा उपस्थित हुन भ्याउँदैनन् । ठूला नेताको आह्वान भएका ठाउमा जहाँ पनि पुग्न सक्ने, जति अराजक बन्न पनि तयार हुने युवाहरू देशमा भएका समसामयिक मुद्दामा स्वतन्त्र नागरिकको हैसियतले आफ्ना आवाज उठाउँदैनन् ।
दलको झण्डा बोक्न र आफ्नो गुटको नेताको बचाउ गर्न जे पनि गर्ने अनि नागरिकको जिम्मेवारीमा पर्ने सामान्य जिम्मेवारी समेत बहन नगर्ने युवा जमातलाई कसरी सचेत युवा भन्ने ? उनीहरूले देश बनाउँछन् भनेर कसरी पत्याउने ?सोचनिय बिषय बनेको छ। के सदैव दल र नेता को पिछलग्गु बन्ने हो त?

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार