२०८१ बैशाख ७ गते शुक्रवार

हत्यारा पत्ता नलगाएको भन्दै जोगबुढा प्रशासन कार्यालयमा तालाबन्दी



डडेल्धुरा । परशुराम नगरपालिका – ८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

घटनाबारे ढाकछोप गरेको भन्दै आन्दोलित स्थानीयले बुधबार इलाका प्रशासन कार्यालय जोगबुढामा तालाबन्दी गरेको छन् । हत्यारा पत्ता नलगाउँदासम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए ।

परशुराम नगरपालिकाले अस्मिताको न्यायका लागि गठन भएको संघर्ष समितिसँग ६ बुँदे सम्झौता गरे पनि अझै कार्यान्वयन नगरेको संघर्ष समितिको आरोप छ ।

पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र अस्मिताका श्रीमान् अमर धामीलाई जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी दिनेलगायत छन् । तर, त्यो सम्झौता अझै पनि कार्यान्वयन भने नभएको संघर्ष समितिका संयोजक बोहराले बताए ।

के भन्छ प्रहरी ?
प्रहरीले सूक्ष्म अनुसन्धान भन्दै जिल्ला र प्रदेशको टोली खटाइएको जनाएको छ । डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल आफैं घटनास्थलमा खटिएका थिए । तर, पनि प्रहरीले घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन ।

शव फेला परेको दिनदेखि निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । तर, प्रहरीसँग ठोस परिणाम हात पर्न सकेको छैन् । अनुसन्धानका क्रममा हात परेका प्रमाणले हत्यारा सार्वजनिक गर्न पर्याप्त नभएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार