२०८१ चैत्र १ गते आइतवार

मैत्रीपूर्ण खेल : नेपालसँग बराबरीमा रोकियो भारत



भाद्र १७।
​​​​​​​तुलनात्मक रूपमा बलियो टोली भारत नेपालसँगको मैत्रीपूर्ण फुटबलमा बराबरीमा रोकिएको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पाहुना टिम भारत नेपालसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालका लागि अन्जन विष्टले र भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए । खेलमा घरेलु टिमले सुरुआती अग्रता बनाएको थियो ।
खेलको ३६औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई पहिलो हाफभरि १–० गोलको अग्रता दिलाएका थिए । अन्जनले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् ।

​​​​​​​खेलको ६०औँ मिनेटमा भारतका अनिरुद्ध थापाले गोल गरेसँगै पाहुना टोली बराबरीमा फर्किएको थियो । कप्तान सुनिल क्षेत्रीले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार नेपाली कप्तान एवम् गोलरक्षक किरण चेम्जोङले बचाएका थिए । तर पूर्ण रूपमा क्लियर नभइसकेको बललाई थापाले पोस्टको दिशा दिएका थिए ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप अहिले नेपाल र भारतले मैत्रीपूर्ण फुटबल खेल खेलेका हुन् । साफ असोज १५ देखि ३० गतेसम्म आयोजना हुँदै छ । नेपाल हाल अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को विश्व वरीयतामा एक सय ६८औँ स्थानमा रहेको छ । भारत भने फुटबलको विश्व वरीयतामा एक सय पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार