अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो। तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेको एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले बताए। गुरुङकै कम्पनीले यी सुरक्षागार्डलाई अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाएको थियो। उनीहरूलाई दाेहाबाट कुवेतको अल–जजिरा विमानस्थल लगी त्यहाँबाट नेपाल ल्याइएको हो।
दोहामा रहेका अन्य नेपाली सुरक्षागार्डलाई पनि क्रमश: उद्धार गरेर ल्याउने तयारी रहेको गुरुङले जानकारी दिए।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ। विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ। राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसकेका छन्।
त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा छन्। उनीहरूलाई नेपाल फर्काउन पाकिस्तान सरकारले पनि समन्वय गर्ने भएको छ।