
बेलायती सरकारले ग्रामीण क्षेत्रका जनतासम्म इन्टरनेटको पहुँच पुर्याउन पानीको पाइपबाट फाइबर अप्टिकल केबलहरु पठाएर ब्रोडब्यान्ड नेटवर्क जोड्ने एक नयाँ तरिकाको परीक्षण गरिरहेको छ ।
बनिसकेका सडक लगायतका पूर्वाधारहरू नभत्काई ग्रामीण क्षेत्रमा कसरी ब्रोडब्यान्ड पुर्याउन सकिन्छ भन्ने विषयमा बेलायती सरकारले विगत तीन वर्षदेखि काम गरिरहेको छ।
यो उपायलाई अपनाएर यही हिउँददेखि काम थाल्ने गरी बेलायती सरकारले कन्ट्रयाक्टर छनौट गरेको छ । यही हिउँदमा काम सुरु गरेमा सन् २०२४ को मार्च महिनासम्म काम सक्ने सरकारको लक्ष्य रहेको छ ।
यसका लागि बेलायतीले सरकाले ४० लाख पाउन्ड अर्थात ६५ करोड ८४ लाख रुपैयाँ बजेट तोकेको छ । पानीको पाइपबाट केबल जोडिनुअघि यो कत्तिको सुरक्षित छ वा छैन भन्ने विषयमा बेलायतको ड्रिङ्किङ वाटर इन्स्पेकटोरेटले परीक्षण गर्नेछ ।
कम्पनीको प्रस्तावमा लेखिए अनुसार यो प्रक्रियामा बनिसकेको पूर्वाधारलाई बिगारेर गिगाबाइट क्षमताको ब्रोडब्रान्ड नेटवर्क जोड्न लाग्ने लागतको चार देखि पाँच गुणाले कम पर्न जान्छ ।
ग्रामीण क्षेत्रमा ब्रोडब्रान्ड जोड्नेबेलामा टेलिकम कम्पनीले सामाना गर्नपर्ने मुख्य चुनौती भनेको नै सडक खन्दा लाग्ने लागत हो । यसको विकल्पमा पानीको पाइप त प्रत्येकको घरमा पुगेको हुदाँ त्यसैलाई प्रयोग गरेर इन्टरनेटको सुविधा पनि दिन लागेको सरकारको भनाइ छ ।
यदि यो योजना सफल भएमा अन्य माध्यम जस्तै बिजुली, ग्यास र ढलको पाइपलाइनबाट नेटवर्क जोड्ने परीक्षण गर्ने बेलायती सरकारको योजना रहेको छ ।
ग्रामीण क्षेत्रलाई द्रुत गतिको इन्टनेट पहुँचसँग जोड्ने बेलायती सरकारको प्रोजेक्ट गिगाबाइट योजना अन्तर्गत यो परीक्षणलाई अगाडि बढाइएको हो ।