२०८१ बैशाख ८ गते शनिवार

कोरोना महामारीको तेस्रो लहरको लक्षण देखिन थाल्यो : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहरको लक्षण देखिन थालेको बताउनुभएको छ । शनिबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले नेपालमा पनि कोरोना महामारीको तेस्रो लहरको लक्षण देखिन थालेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं । कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरु हुने लक्षण देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन ।’

त्यस्तै उहाँले अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कन आग्रह पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कौं । बाहिर निस्कनु अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं । भौतिक दूरी कायम गरौं । बेला–बेलामा साबुनपानीले हात धोऔं । स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गरौं ।’

कोरोना महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम नै खोप भएको उल्लेख गर्दै उहाँले अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी रहेको जानकारी पनि गराउनुभएको छ ।

उहाँले खोप लगाउन जाँदा सामान्य दूरी कायम गरेर लाइनमा बस्न सबैलाई अनुरोध पनि गर्नुभएको छ ।

साथै उहाँले राजनीतिक दलहरु, निजी क्षेत्र, गैर सरकारी संस्थालाई पनि भेला हुने कार्यक्रम नगर्न आग्रह गर्दै भन्नुभएको छ, ‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र आफ्नो पेसा व्यवसाय तथा अन्य गतिविधि सञ्चालन गर्न आग्रह गर्दछु ।’

प्रकाशित मिति : २०७८ साउन २३ गते शनिवार