२०८१ बैशाख ३० गते आइतवार

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा



राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
आज विहान सामाजिक सन्जालमार्फत उनले सन्यासको घोषणा गरेका हुन् । करिव डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।
उनको कप्तानी समयमा नेपाली क्रिकेटले अभूतपूर्व सफलता हासिल गरेको थियो । सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारीमा समेत थिए ।
आफुले जिवनमा देखेको मुख्य सपना नेपाली क्रिकेटको उन्नती भएको र यसका लागि सम्पुर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता पर्ने भन्दै उनले इमान्दारीताका साथ काम गर्ने हो भने नेपाली क्रिकेट धेरै माथि पुग्ने उल्लेख गरेका छन् ।
‘क्रिकेटरको रुपमा मैले आफ्नो मन,वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भुमिका निर्वाह गरें,अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,मैदान भित्रका यी दुई दशक,जीवन रहुन्जेल,मिठो यादका रुपमा म सँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुय्राउने छौँ भन्ने विश्वास लिएको छु’ पूर्व कप्तान पारसले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार