२०८१ बैशाख ४ गते मङ्गलवार

माधव नेपाल र विष्णु पौडेलबीच भेटवार्ता



काठमाडौ श्रावण १५-नेकपा एमालेभित्र चर्किएको विवादलाई उन्मुक्ति दिन दोस्रो तहका नेताहरू अघि सरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद हुन नसकेको अवस्थामा दोस्रो तहका नेताहरू विवाद समाधान गर्नतर्फ अग्रसर देखिएका हुन् ।
दोस्रो तहका नेताले असार २७ गते तयार पारेको १० बुँदे एकता प्रस्ताव वरिष्ठ नेता नेपालले स्वीकार गरेका छैनन् । प्रस्तावमा सन्तुष्ट हुन नसकेका नेता नेपालले एमालेका सबै संरचना २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । तर अध्यक्ष ओली पक्षले जेठ २ मा फर्कने बताएपनि व्यवहारत जेठ २ को एमाले संरचनाको बैठक बस्न सकेको छैन ।
कार्यदल सदस्यहरूले दुई नेताको समझदारीमा शक्ति बाँडफाँड गर्न उनीहरूलाई जिम्मा छोडेको बताएका छन् । तर, त्यसका लागि ओली र नेपालबीच भेटवार्ता गर्न जरुरी हुने भएकाले उनीहरूबीच संवाद गराउने प्रयास दोस्रो तहका नेताहरूले गरिरहेका छन् ।
यस्तै, ओली र नेपालबीच संवाद गराउने उद्देश्यले दोस्रो तहका ओली पक्षका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल वरिष्ठ नेता नेपालसँग संवादमा जुटेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार वरिष्ठ नेता नेपालले नेम्वाङलाई बिहीबार आफ्नै निवासमा बोलाएर संवाद गरेका थिए भने त्यसको निरन्तरतास्वरूप शुक्रबार पौडेललाई आफ्नै निवास कोटेश्वरमा बोलाएर पार्टीको विवाद सुल्झाउन संवाद गरेको बुझिएको छ ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार