२०८३ असोज ८ गते शुक्रवार

युवा नेतृत्व अघि सार्दै केशवजंग डाँगी, कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी



सल्यान । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र युवा नेतृत्व र पुस्तान्तरणको बहस चुलिएको छ। यही माहोलबीच नेपाल विद्यार्थी संघ (नेविसंघ) सल्यानका जिल्ला सभापति केशवजंग डाँगीले ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्।

‘युवा ऊर्जा, वैचारिक निष्ठा र सबल संगठन—समृद्ध कांग्रेस निर्माणको बलियो आधार’ भन्ने नारासहित मैदानमा उत्रिएका डाँगीले युवाको आवाज पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।

विद्यार्थी तथा युवा राजनीतिमा सक्रिय डाँगीले संगठन विस्तार, विद्यार्थीका हकहित, युवाको राजनीतिक सहभागिता तथा सामाजिक गतिविधिलाई प्राथमिकतामा राख्दै आएको बताउँदै आएका छन्।

युवालाई राजनीतिसँगै खेलकुद र सामाजिक क्षेत्रमा जोड्ने उद्देश्यले उनले गत वर्ष ‘जय नेपाल कप’ आयोजना गरेका थिए। स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै प्रतिभावान युवालाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताएका छन्।

डाँगीका अनुसार पछिल्लो समय युवापुस्तामा राजनीतिप्रति चासो भए पनि उनीहरूका विषय र अपेक्षा पार्टीको नीति निर्माण तहसम्म पर्याप्त रूपमा पुग्न सकेका छैनन्। त्यसैले युवाका सवाललाई केन्द्रमा राख्दै आफ्नो उम्मेदवारी अघि सारेको उनको भनाइ छ।

“पार्टीलाई वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सुदृढ बनाउनु आजको आवश्यकता हो। युवाका मुद्दालाई पार्टीको केन्द्रीय तहसम्म सशक्त रूपमा पुर्‍याउन र समृद्ध कांग्रेस निर्माणको बलियो जग बसाल्न मैले उम्मेदवारी दिएको हुँ,” डाँगीले भने।

नेपाली कांग्रेसको संशोधित विधानअनुसार १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कम्तीमा तीन–तीन जना ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरिएको छ।

यही व्यवस्थाअन्तर्गत डाँगीले पनि युवा क्लस्टरबाट आफ्नो उम्मेदवारी अघि सारेका हुन्। विद्यार्थी राजनीति, संगठन निर्माण तथा सामाजिक र खेलकुद गतिविधिमा सक्रिय रहँदै आएका डाँगीको उम्मेदवारीसँगै सल्यान कांग्रेसमा युवा प्रतिनिधित्व र पुस्तान्तरणको बहस थप चर्किएको छ।

प्रकाशित मिति : २०८३ असोज ८ गते शुक्रवार