२०८३ मङ्सिर १ गते मङ्गलवार

तुलसीपुर–३ सातबासमा मङ्सिर २ र ३ गते खुला पुरुष भलिबल प्रतियोगिता हुने



तुलसीपुर, १ मङ्सिर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ सातबासमा दुईदिने खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

नवज्योति सांस्कृतिक युवा क्लबको २४औँ वार्षिकोत्सव तथा हरिबोधनी एकादशी धार्मिक मेला–२०८३ को अवसरमा आगामी मङ्सिर २ र ३ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले २ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। टोली दर्ताको अन्तिम समय मङ्सिर २ गते बिहान ७ बजेसम्म तोकिएको आयोजकले जानकारी दिएको छ।

स्थानीय स्तरमा खेलकुदको विकास गर्ने र युवाहरूको खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

यसैगरी, वार्षिकोत्सव तथा धार्मिक मेलाको अवसरमा मङ्सिर ४ गते विशेष सांस्कृतिक कार्यक्रमसमेत हुनेछ। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रतियोगिताबारे थप जानकारीका लागि क्लबका अध्यक्ष धनराज रोका तथा खेल संयोजक अनिल परियारलाई सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : २०८३ मङ्सिर १ गते मङ्गलवार