
बिरगंज, चैत ३ – स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन नजिकिँदै गर्दा ठाकुर राम बहुमुखी क्याम्पस, बिरगंजमा चुनावी माहोल तातिएको छ। राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघका युवा नेता दीपेश कुमार साहको पक्षमा जनलहर बढ्दै गएको छ। विद्यार्थीहरू “सबै विद्यार्थीको एउटै चाहना, दीपेशको जित नै हाम्रो सपना” भन्ने नारासहित उत्साहका साथ प्रचारप्रसारमा जुटेका छन्। साहले विद्यार्थीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाउँदै चैत ५ गते हुने चुनावमा आफूलाई कुनै प्रतिस्पर्धा नभएको दाबी गरेका छन्।
दीपेश कुमार साहले आफ्नो चुनावी घोषणापत्रमा क्याम्पसमा शैक्षिक गुणस्तर सुधार, छात्रवृत्तिको व्यवस्था, पुस्तकालय र खेलकुद सुविधाको विस्तारजस्ता एजेन्डा प्रस्तुत गरेका छन्। उनका अनुसार, विद्यार्थीहरूका माग र आवश्यकताअनुसार काम गर्नु नै उनको प्रमुख लक्ष्य हुनेछ। उनले शिक्षण र सिकाइको स्तर उकास्ने, कमजोर विद्यार्थीहरूलाई अतिरिक्त कक्षा प्रदान गर्ने, क्याम्पस भित्रका भौतिक पूर्वाधार सुधार गर्ने तथा सूचना प्रविधिमा आधुनिकता भित्र्याउने योजनासमेत अघि सारेका छन्।
साहको नेतृत्वमा क्याम्पसमा नयाँ परिवर्तन आउने आशामा विद्यार्थीहरू उत्साहित देखिन्छन्। “हामीलाई हाम्रो अधिकारको पक्षमा बोल्ने, हामीसँगै हिँड्ने र हाम्रो समस्याको समाधान गर्ने नेता चाहिन्छ, र त्यो नेता दीपेश कुमार साह नै हुन्,” एक विद्यार्थी नेताले भने। साहले विद्यार्थीहरूका समस्याहरूलाई प्राथमिकतामा राखेर काम गर्ने र क्याम्पसलाई शिक्षाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
चुनावी माहोलमा दीपेशप्रति विद्यार्थीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। चैत ५ गते हुने निर्वाचनमा साहको विजय सुनिश्चित देखिएको समर्थकहरूको दाबी छ। चुनावी माहोलमा साहको लोकप्रियता र विद्यार्थीहरूबीचको एकताले स्ववियु निर्वाचनमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।
