२०८२ जेष्ठ ८ गते बिहिवार

शिक्षा क्षेत्र योजना निर्माणको मस्यौदा माथि पृष्ठपोषण तथा सुझाव संकलन



रोल्पा १३ माघ । शिक्षा क्षेत्र योजनाको प्रारम्भिक मस्यौदा माथि सरोकारवालाहरुसँग पृष्ठपोषण तथा सुझाब संकलन कार्यक्रम त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ ।
युनिसेफ युरोपियन युनियनको आर्थिक सहयोगमा कालिका स्वावलम्वन सामाजिक केन्द्र कपिलवस्तुद्वारा गुणस्तरीय सिकाइका लागि शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम संचालन भएको हो ।
यो कार्यक्रम लुम्बिनी प्रदेशको ७ जिल्लाको २७ स्थानीय तह र रोल्पाको जिल्लाको ४ स्थानीय तह ( त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका, लुङ्ग्री गाउँपालिका र रुन्टीगढी गाउँपालिका) मा सञ्चालनमा रहेको छ ।


शिक्षा क्षेत्र योजनाको प्रारम्भिक मस्यौदा माथि छलफल गर्दै सहभागिहरुले शिक्षा सीपमूलक, स्वरोजगार उन्मुख, गुणस्तरीय खालको हुनुपर्ने कुरामा जोड दिएका थिए। शिक्षामा सबैको पहुँच पुग्ने खालको हुन आवश्यक रहेको साथै वर्तमान परिस्थितिमा शिक्षाबाट कोहि पनि बञ्चित हुने अवस्था हुन नहुने धारणा राखेका थिए।
शिक्षालाई विशेष गरेर उत्पादनमूखी बनाउनु पर्ने र सोहि अनुसारको योजना निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुको सुझाब रहेको थियो।


कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक तथा वडा नं. २ का वडाध्यक्ष कविराज बुढाले शिक्षालाई गुणस्तरीय बनाउन तर्फ सबैको सल्लाह, सुझाब आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो । परिवेश सुहाउदो खालको शैक्षिक योजना वनाउन आवश्यक रहेको र शिक्षा समाज निर्माणको बलियो आधार भएकाले शिक्षामा राम्रो कार्यक्रम लिएर अरुको क्षेत्रको भन्दा शिक्षा क्षेत्रमा बढि बजेट बिनियोजन गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको सहजीकरण कालिका स्वावलम्वन सामाजिक केन्द्र रोल्पाका एस. इ. एस. पि प्राविधिक अधिकृत ऋषिकेश डाँगीले गर्नुभएको थियो। भने कार्यक्रमको सञ्चालन त्रिवेणी गाउँपालिका रोजगार सहायक धन बहादुर बस्नेतले गर्नुभएको थियो।


कार्यक्रममा त्रिवेणी गाउँपालिकाका संस्थापन गाउँपालिका अध्यक्ष , विभिन्न वडाका जनप्रतिनिधि, शिक्षा क्षेत्र योजनाको प्रारम्भिक मस्यौदा निर्माण कार्यदल, विभिन्न विद्यालयका शिक्षक, पालिकामा कार्यरत कर्मचारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८१ माघ १२ गते आइतवार