त्रिवेणी गाउँपालिकामा चुनढुङ्गा उत्खनन्का सम्बन्धमा गम्भीर प्रश्नहरू उठेका छन् । पालिकाले उत्खनन्को क्रममा राजश्व छली, जनताको जग्गासँग भएको सम्झौताको उल्लंघन र विद्यालयका बालबालिकाको अध्ययनमा परेको असरका कारण कानुनी कारबाहीदेखि आन्दोलनको चेतावनीसम्मका निर्णयहरू गरेको छ ।
पालिकाले रोल्पा चुनढुङ्गा प्रा.लि. , शिवस्वरुप खनिज उद्योग र रोल्पा सिमेन्ट प्रा.लि. बिरुद्ध राजश्व तिर्ने प्रक्रियामा लापरबाही गरेको भन्दै कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाउने निर्णय भएको तर गत असोज १७ गते बसेको सर्वदलीय बैठकले १५ दिनको अल्टिमेटम दिएको तर अल्टिमेटमको समय सिमा भित्र माग गरेका सर्तहरु केही पनि पूरा नगरेको हुनाले फेरि कार्तिक ३ गते जुगारमा बसेको सर्वदलीय बैठक २२ दिनको समय दिएको उक्त समयसम्म पनि राजस्व लगाएत माग गरेका माग पूरा नगरे कार्तिक २५ गते रानागाँउमा पत्रकार सम्मेलन गरि आन्दोलन घोषण गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत् खानी तथा भूगर्भ विभागले २०७८ सालको चैत्र २४ गते पठाएको पत्रमा सो कम्पनीले रोयल्टी रकम जफत गर्न र जरिवाना दस्तुर दाखिला गर्नुपर्ने स्पष्ट रूपमा उल्लेख भए पनि सो कार्य अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । पालिकाले यो मितिदेखि हालसम्म पनि १० प्रतिशत सेवा शुल्क र २५ प्रतिशत राजश्व पाउन नसकेको कुरा उठाउँदै तत्काल राजश्व दाखिला गर्न जानकारी गराउने निर्णय गरेको छ ।यसैगरी खानी सञ्चालनका क्रममा जनतासँग भएका सम्झौता पनि हालसम्म कार्यान्वयनमा आउन सकेका छैनन् । उत्खनन्को असरले स्थानीय जनतामा आर्थिक र सामाजिक समस्या उत्पन्न भएको बताइएको छ । गाउँपालिकाले यी सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै सम्बन्धित पक्षलाई यथासिघ्र कदम चाल्न आग्रह गरेको छ । यसबारे सरोकारवालालाई जानकारी गराउन निर्णय भएको छ ।
स्काभेटरको ब्रेकर र उत्खनन्को ध्वनिले त्रिवेणी गाउँपालिका वडा नं. ४ सिम्पानिमा रहेको श्री जनकल्याण माध्यमिक विद्यालय, श्री दुर्गाभवानी आधारभूत विद्यालय र श्री सिद्धेश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरूको अध्ययनमा प्रतिकूल असर पुर्याएको कुरा छलफलमा उल्लेख गरिएको छ । उत्खनन्को भाइब्रेसन र ध्वनिका कारण विद्यार्थीहरूको ध्यान खिचिन नसक्ने अवस्था रहेको भन्दै पालिकाले विद्यार्थीहरूको स्वच्छ वातावरणमा पढ्न पाउने अधिकारको रक्षा गर्न सम्बन्धित निकायमा पत्र लेखी पठाउने निर्णय गरेको छ । यस्तै नजिकै रहेका बस्ती र अन्य सार्वजनिक कार्यालयहरूमा पनि वातावरणीय असर परेको जनाइएको छ ।
सर्वदलीय बैठकले सबै सरोकारवाला निकायलाई आफ्ना जिम्मेवारी पूरा गर्न र जनताको हकहितको संरक्षणमा काम गर्न अनुरोध गरेको छ । यदि मागहरू समयमै पूरा नभए आगामी दिनमा आन्दोलन र संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी गराइएको छ । बैठकले वार्ताको लागि बार्ताटोलि समेत घोषणा गरेको छ ।