२०८१ असोज २८ गते मङ्गलवार

बाल दिवसमा त्रिवेणीमा कविता प्रतियोगिता



रोल्पा/जुगार
६० औं राष्ट्रिय बाल दिवसको अवसरमा त्रिवेणी गाउँपालिकामा कविता प्रतियोगिता सम्पन्न गरिएको छ। त्रिवेणी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जुगारको आयोजनामा पालिका स्तरीय आधारभुत र माध्यमिक तहको कविता प्रतियोगिताको आयोजना गरिएको हो। बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ देशभर मनाईएको राष्ट्रिय बाल दिवसमा त्रिवेणीमा कविता प्रतियोगिता गरेर मनाईएको हो। कविता प्रतियोगितामा पालिकाभित्रका १७ वटा सामुदायिक माध्यमिक तथा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो।


माध्यमिक तह स्तरीय कविता प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय लिङदुङका नवराज वली प्रथम, शिव माध्यमिक विद्यालय द्वारपानिकी निशा बुढा द्वितीय, अरनिको माध्यमिक विद्यालय नुवागाँउकी निशा घर्ती तृतीय र विरेन्द्र माध्यमिक विद्यालय गाङका विन बहादुर घर्ती सान्त्वना हुन सफल भएका छन् । यसैगरी आधाभुत तह स्तरीय कविता प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय जुगारकि कमला परियार प्रथम, जनकल्याण माध्यमिक विद्यालय सिम्पानीका पुरण घर्ती द्वितीय, सरस्वती आ.वि. जेलवाङकी मनिषा घर्ती तृतीय र गोविन्द माध्यमिक विद्यालय दुम्लाका आयुष नेपाली सान्त्वना हुन सफल भएका छन। प्रतियोगिताको निर्णायकमा त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई , महिला बालबालिका तथा समाज कल्याण इकाई प्रमुख हिरा बुढा , जेसी एक्सपट तथा साहित्यकार दिल कुमारी बुढा रहनुभएको थियो।


औपचारिक कार्यक्रमको अध्यक्षता त्रिवेणी गाउँपालिका कार्यवाहक अध्यक्ष कृष्णबहादुर के.सी.ले गर्नुभएको थियो भने आतिथ्यता पालिका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई , वडा नं. २ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक कविराज बुढा, नेकपा एमाले त्रिवेणी गाउँ कमिटी अध्यक्ष कुश बहादुर पुन, शिक्षक महासंघ त्रिवेणी गाउँपालिका अध्यक्ष पुर्ण बहादुर घर्तीले गर्नुभएको थियो।

कार्यक्रमको समापनसत्रमा बोल्दै कार्यवाहक अध्यक्ष के.सीले कविताले मानिसलाई सत्कर्म सिकाउने र ज्ञान दिने भएकाले कविताको गहिराई जो कोहीले बुझ्न नसक्ने बताउनुभयो। उहाँले बाल दिवसको अवसरमा पालिकाका बालबालिकाका शुभकामना ब्यक्त गर्दै विद्यार्थीहरुको प्रतिभा पहिचानका लागि यस किसिमका कार्यक्रम महत्त्वपूर्ण रहने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख प्रेम प्रकाश पुनले गर्नुभएको थियो ।

साथै कार्यक्रममा उपस्थिति सम्पूर्णलाई बालविवाह अन्त्यका लागि प्रतिवद्धता व्यानरमा हस्ताक्षर समेत गराईएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शनिवार