२०८१ चैत्र १ गते आइतवार

होलिका दहनसंगै तराई मधेसमा रंग अबिर शुरू ।।।



विनोद मण्डल, चैत्र १० । सिराहा लगाएत तराई मधेसका जिल्लाहरुमा रंग अबिरको पर्व शुरू भएको छ ।

असत्यमाथि सत्यको विजयको उपलक्ष्यमा मनाइने होली पर्वमा पूणिर्माको दिन होलिका दहन गरिन्छ ।

होली पर्वले वसन्त ऋतुको आगमनको संकेत समेत गर्दछ होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्वको ईतिहास त्रेता युगसँग जोडिएको हिन्दूहरूको प्रमुख चाड हो ।

“राक्षसकी बहिनी होलिकाले ब्रह्मबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् । यहि वरदानको फाइदा उठाउदै उनले जलाएर मार्नको लागि प्रह्लादलाई काखमा लिएर आगोमा बसेकी थिइन् । यस क्रममा विष्णुले गर्दा प्रह्लादलाई केही भएन तर होलिका जलेर मरिन । यही दिनको खुसियालीमा हिन्दु धर्मावलम्बीहरूले होली पर्व मनाउने गर्छन ।”

एक विश्वास अर्थात् पुराणहरुमा वर्णन गरिए अनुसार दानवराज हिरण्यकश्यपले आफ्ना छोरा भक्तप्रह्लादले भगवान विष्णुको परम भक्त भई विष्णुको पूजा-आरधना र ध्यानमा मग्न भएको देखेर क्रोधित पिताले आफ्नी बहिनी होलीका जसलाई ब्रहृमाले आगोले केही गर्न नसक्ने वरदान दिएका थिए । उनलाई छोरा प्रह्लादलाई काखमा राखेर आगोमा बस्न आदेश दिएका थिए । तर अवस्था त्यसको ठिक विपरित भयो । होलिका जलेर भष्स भइन् भने भक्त प्रह्लादलाई केही पनि भएन । त्यहि घटनालाई सम्झेर यो दिन होलिका दहन गर्ने विधान रहेको छ ।

होलीका दहनलाई ठाउँ अनुसार विभिन्न नामले चिनिन्छ , खास गरी मधेशमा “समन” नामले चिनिने होलीका दहन बेलुका गाउँका मानिसहरू एक ठाउँमा भेला भएर घरमा बनाएको एक किसिमको परिकार लिएर गाउँको उत्तर तर्फ गएर आगो बालेर होरी गीत सँगै गाउँदै होलीका दहन गर्ने चलन रहेको पाईन्छ ।

होली औपचारिक रूपमा होलीका दहन पछि शुरू भएपनि आजभोलि स्कूल कलेज लगायत पार्टी संगठन, संघ संस्थामा फरक ढंगले होलीको कार्यक्रम आयोजना गरेको पाइन्छ ।

होली अर्थात् फगुवामा डम्फा, झाली,ढोलक , झामैर लगायतको सामग्रीको प्रयोग गरेर होली पर्व मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार