दाङ। लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे मन्त्री रोज राणाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार सिंहदरबारमा पुगेर उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा रोज राणाले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेर तत्काल चालक अनुमति पत्र सहज रूपमा दिने व्यवस्था गराउन मा गरेका थिए ।
मन्त्री राणाले आफूले प्रदेशभित्र चालक अनुमति पत्र छपाइ प्रदेशलाई नै दिन केन्द्र सरकारसँग आग्रह गरेको र प्रदेशमा हुने कामलाई प्रदेशलाई नै अधिकार दिन आग्रह गरेको बताए ।
‘मैले मन्त्रीज्यूसँग यो विषय प्रष्टसँग राखेँ, उहाँले सकारात्मक रुपमा लिनुभयो र चालक अनुमति पत्र छपाइ र सहज रूपमा सेवाग्राहीलाई उपलब्ध गराउन कसरी सकिन्छ भनेर सात प्रदेशका यातायात मन्त्रीहरूलाई बोलाएर छलफल गरेर ठोस निर्णय गर्नेगरी महत्वपूर्ण कुराकानी भयो, यो भयो भने ठूलो उपलब्धी हुनेछ प्रदेशको लागि’, उनले भने ।
यसअघि चालक अनुमति पत्र लिन ट्रायल सेन्टरले गरेको मनोमानीबारे समाचार आएपछि मन्त्री राणाले आफ्नो प्रदेशभित्र चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने निर्णय गराएका थिए ।
यस्तै झोलामा ट्रायल सेन्टर बोकेर हिँड्नेलाई कानुनी दायरामा ल्याउन पनि उनले पहलकदमी लिएका छन् । यो निर्णयले उनको प्रशंसा भएपनि कतै प्रभाव वा दवावमा परेर निर्णय कार्यान्वयन गर्न सक्दैनन् भन्ने चिन्ता भने बढेको छ ।