तुलसीपुर, २५ पुस । पृथ्वी नारायण चोक लेखिएको बोर्ड हटाएर तुलसीपुरको बाहिनी चोकलाई नेत्रलाल चोक नामाकरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका – ६ नम्बर वडाले पृथ्वी नारायण शाह लेखिएको बोर्ड हटाएर नेत्रलाल चोक नामाकरण गरेको हो । वडाको अनुमतिबिना तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्कालाई पृथ्वी नारायण शाहको सालिक राख्न अनुमति दिने अधिकार नभएकाले बोर्ड हटाएको ६ नम्बर वडा अध्यक्ष दुजमान भण्डारीले बताउनुभयो । नगर प्रहरीको सहयोगमा बुधबार दिउँसो नेत्रलाल चोक लेखिएको स्टिकर टाँस गरिएको हो ।
२०५४ सालमा तुलसीपुर नगरपालिकाका तत्कालीन जनप्रतिनिधिको बोर्ड बैठकले बाहिनी चोकलाई नेत्रलाल चोक राख्ने निर्णय गरेकाले सोही निर्णयलाई कार्यान्वयन गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । तत्कालीन स्थानीय निकायले गरेको निर्णयलाई उल्टयाउने अधिकार बहालवाला मेयर खड्कालाई नभएको अध्यक्ष भण्डारीले दाबी गर्नुभयो । २०७९ फागुन २६ गतेको कार्यपालिका बैठकले पृथ्वी नारायण शाहको सालिक राख्ने निर्णय गरेको भन्दै २०८० जेठ ७ गते मेयर खड्काको हस्ताक्षर रहेको पत्र उपमहानगरपालिकाले राष्ट्रिय शक्ति नेपाल तथा नागरिक अभियान दाङलाई उपलब्ध गराएको थियो ।
यता तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वलीले कार्यपालिकाले गरेको निर्णय बाहेक अन्य कुराको जानकारी आफूलाई नहुने प्रतिकृया दिनुभयो । कार्यपालिका बैठकले अहिलेसम्म सालिक राख्ने विषयमा कुनै निर्णय नगरेको भन्दै व्यक्तिगत रुपमा गरेका निर्णयको जवाफ स्वयम् व्यक्तिबाट लिन आग्रह गर्नुभयो । यता नागरिक अभियान दाङका प्रतिनिधि हरि शाहले आफुहरुलाई सालिक राख्न दिने भन्दै पत्र दिएर बेकुफ बनाउने काम भएको बताउनुभयो । यसका विषयमा आफूहरूले छलफल गर्ने शाहले बताउनुभयो ।









