२०८१ असोज १ गते बुधवार

राष्ट्रियसभा सदस्य निर्वाचन दाङबाट केन्द्रिय सदस्य गेहेन्द्र गिरिसहित १ सय २३ आकांक्षी




तेजेन्द्र के.सी.

बुटवल । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाहरुबाट उम्मेदबारका लागि सिफारिस आएको छ । माघ ११ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गत १२३ जनाको नाम जिल्लाबाट सिफारिस भएको प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेले बताए ।

उनका अनुसार रुकुमपूर्व बाहेक अन्य जिल्लाबाट पूर्व संसाददेखि स्थानीय तहमा उम्मेदवार बनेकासम्मलाई जिल्ला कार्यसमितिले उम्मेदवारका लागि सिफारिस गरेका छन् ।

यसरी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको उम्मेदवारका रुपमा सिफारिस भएकामा पूर्व उपसभामुख पुष्पा भुसाल, सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत शाहदेखि केन्द्रीय सदस्य गेहेन्द्र गिरी, कृष्ण किशोर घिमिरे लगायत छन् । गेहेन्द्र यसअघि दुइ पटक कांग्रेसकै अन्तरघातको कारण तुलसीपुर मेयरमा पराजित हुन पुगे । कांग्रेसका जिल्ला सभापती हुँदै पुर्ब सभाषद समेत गिरि भएका हुन ।

यस्तै प्युठानबाट डा.गोविन्द पोखरेल, गुल्मीबाट चन्द्र केसी पनि सिफारिस भएका छन् । भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन् । शाह रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका बाबुदेव घिमिरेसँग पराजित भएका थिए ।

प्रवक्ता गिरीले कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट सिफारिस भइ आएका उम्मेदवारको बारेमा कैफियत खुलाएर सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको बताए । उनले सबैको विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका लगायतका पृष्ठभूमि खुलाएरमात्रै नाम सिफारिस गरिने जानकारी दिए ।

लुम्बिनीमा फागुन २० गते एमालेका कुमार दसौदी र कांग्रेसकी अनिता देवकोटाको राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुन सकभर अवसर नपाएका, लामो समय पार्टीमा योगदान गरेका तथा सबै क्षेत्र मिलाएर जिल्लाबाट आएका नामहरू केन्द्रमा पठाउने बताउँछन् ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार