लुम्बिनी- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघ, प्रदेश र स्थानीय तहमा रहेका काँग्रेसका जनप्रतिनिधिहरुले जनताले महसुस हुने गरी काम गरेमा गौडा गौडामा ढुकेर बसेका राजवादी लाईनमा आउने बताएका छन्। शनिबारदेखि बुटवलमा शुरु भएको नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समरोहलाई बोल्दै महामन्त्री थापाले कम्तीमा काँग्रेसले नेतृत्व गरेको मन्त्रालय, स्थानीय तह र वडामा ८४ मा झुकेर नभई छाती फुलाएर भोट माग्न सक्ने गरी काम गरे राजावादीहरू लाईनमा आउने बताएका हुन्।
उनले ६० सालअघिको पुस्तालाई राजतन्त्रको बारेमा थाहा नभएकाले त्यो पुस्तालाई बुझाउनुपर्ने आवश्यकता रहेको पनि बताए । ‘काठमाडौंका एक जना युवाले भने राजाका बारेमा ६० सालपछि जन्मेका केटाकेटीहरुको बारेमा चिन्ता गर्नुपर्छ , तर, त्यसबारे ४/५ जना शिर्ष नेताहरुले मुकुट लगाउनुभएको छ, त्यो मुकुट मात्रै निकाल्ने हो भने मुकुट देख्छन्, राप ताप देख्छन र तीनले बुझ्छन ।’
महामन्त्री थापाले शिर्ष नेताहरुप्रती सम्मान गर्दै काँग्रेस सभापती शेरबहादुर देउवा सहित सबै पार्टीका शिर्ष नेताहरुकै कारण राजावादी सल्बलाएको संकेत गरे । गणतन्त्र, संविधान र संघीयताका बारेमा धेरै भ्रमहरु रहेको बताउँदै त्यसलाई काँग्रेसका कार्यकर्ताहरुले चिर्नुपर्ने उनले बताए । उनले केही महिनाअघि कमजोर रहेको अर्थतन्त्र अहिले सुधार भएको बताए । ‘अहिले राष्ट्रको ढुकुटी १७/१८ महिना केही नगर्न नपर्ने अवस्थामा छ, अब सबै ठिकठाक छ ’ उनले भने।
उनले सरकारले जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताए । ‘काँग्रेसले चलाएको मन्त्रालयले केही गर्यो भनेर छाती ठोक्न पाइयोस् न’ उनले भने । उनले प्रदेश महंगो नभएको बताउँदै यसको व्यवस्थापन मात्रै गर्न चुकेको बताए । ‘७५ जिल्ला १४ अञ्चल भन्दा ७७ जिल्ला र ७ प्रदेश खर्चिलो हुँदैन, हामीले लोभ मात्रै त्यागौं, प्रदेशको औचित्य पुष्टि हुन्छ’ महामन्त्री थापाले भने । उनले प्रदेशलाई पंगु बनाउने काम राजनीतिक नेतृत्वबाट भएको स्विकार गरे ।
‘यहाँको सिडियो मुख्यमन्त्री भन्दा बलियो छ, हामीले पंगु बनाएका छौं । मन्त्रालय तल र माथि दुवै घटाउनुपर्छ । संघमा ७ देखि १० बनाउनुपर्छ । अधिकारको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । छलफल गरौं ।’ उनले भने । उनले निर्वाचन प्रणाली महंगो र खर्चिलो भएपनि यसप्रति भ्रम फैलाउने काम भएको बताए । ‘२०५ जनाको संसदमा दलित, महिला पुगेनन, त्यसैले मिश्रित बनाएका हौं’ उनले भने ,‘दाई भए भाउजु चाहिने, दिदि भए भिनाजु चाहिने, यसले दुरुपयोग भयो, त्यसलाई रोक्ने गरी कानुन बनाउनेतर्फ ध्यान दिऔं ।’
निर्वाचन प्रणालीलाई दोष दिनहरुलाई २०४७ सालमा काँग्रेसले बहुमत ल्याएर ५१ मा मध्याअवधि गरेको स्मरण गर्न आग्रह गरे । उनले समस्या व्यवस्थामा नभई नेतृत्व र शैलीमा रहेको बताए । उनले २०४७ सालपछि सरकारमा गएका प्रधानमन्त्री सहित उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ती छानविन गर्ने गरी कानुन निर्माणको नेतृत्व काँग्रेसले गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार