तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दुई वर्षभित्र दुई लाखबढी रोजगारी सिर्जना गर्ने गृहकार्य थालेको बताउनुभएको छ । नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरी तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री मास्कीले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री मास्कीले नागरिकहरुलाई आयआर्जनसँग जोड्ने लक्ष्यका साथ हाल प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा कुन क्षेत्रमा के कुरा गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा अध्ययन गरिरहेको बताउनुभयो । ‘विभिन्न ठाउँलाई पकेट क्षेत्र बनाएर अगाडि बढाउने प्रदेश सरकारको योजना छ । त्यस्तै यहाँको लोकल मदिरालाई ब्राण्डिङ गरेर नागरिकहरुलाई स्वरोजगार बनाउने काम अघि बढेको छ’– उहाँले भन्नुभयो– ‘लोकल मदिराको ब्राण्डिङ गर्दा मात्रै यहाँका ५ प्रतिशत नागरिकलाई स्वरोजगार बनाउन सकिदोरहेछ । हाल बाँकेको राप्ती सोनारी गाउँपालिकामा पाइने मौवाबाट मदिरा उत्पादन गरेर ब्राण्डिङ गर्ने प्रक्रिया शुरु गर्दैछौं ।’
त्यस्तै प्रदेश सरकारले यो क्षेत्रमा रहेको टरिगाउँ एयरपोर्ट, घोराही–तुलसीपुर फोरलेन, तुलसीपुर–११ मा रहेको थारु राजा दंगीशरणको दरबार क्षेत्र सुकौराकोट, ग्वारखोला हाइड्यामलाई गौरवका आयोजनाको रुपमा अगाडि बढाउने जानकारी दिनुभयो । ‘टरिगाउँ एयरपोर्टमा ७२ सिटे जहाज बस्न सक्ने गरी लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाले संयुक्त लगानीमा निर्माण गर्ने भन्ने कुरा बजेट निर्माण गर्दाको अन्तिमसम्म तयारी थियो तर हामीले गर्न नमिल्दो रहेछ’– उहाँले भन्नुभयो– ‘नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को अनुमतिबिना निर्माण गर्न नमिल्ने रहेछ । प्राविधिक तथा कानुनी बन्देजका कारण पछि हट्नुपरेको हो । त्यस्तै फोरलेन निर्माणको विषय पहिलेदेखि नै बिग्रिदै आएका कारण यसलाई सहज बनाउन केही चुनौतीहरु देखिएका छन् ।’ यी विविध विषयलाई प्रदेश सरकारले गम्भीरताका साथ लिएको र यिनको निर्माण तथा स्तरोन्नति गर्न प्रदेश सरकार लागिपरेको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले सुरक्षाकर्मी उभिएर सुरक्षा दिनेभन्दा पनि डिजिटल सुरक्षा प्रविधि अपनाउनुपर्ने भन्दै बजार तथा सार्वजनिक ठाउँहरुमा सिसिक्यामरा जडान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
‘चाडपर्वको बेलामा यात्रुहरुले सवारी साधनमा सास्ती खेप्नुपर्ने बाध्यता नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सबै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेका छौं’– उहाँले भन्नुभयो– ‘प्रहरी एक्लैले समाजमा सुरक्षा गर्न सक्दैन । त्यसैले समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा ल्याएर समुदायसँग सहकार्य गर्दै समाजमा सुरक्षाको अनुभूति गराउने नीति अगाडि बढाएका छौं ।’ साथै कुनै पनि अवस्थामा प्रहरी सेवा चाहिएमा १ सय नम्बरमा फोन गरेर घटना भइरहेको ठाउँबारे जानकारी गराए प्रहरी जतिसक्दो छिटो आइपुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उपमहानगरपालिका अहिले विगतको दायित्वबाट मुक्त भइसकेको र आगामी दिनमा विकासको मार्गमा अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी दायित्वबाट मुक्त भएका छौं । अब तपाइँहरुका सल्लाह, सुझाव तथा सकारात्मक आलोचनाहरुलाई आत्मसात गर्दै विकासको मार्ग तय गर्ने हो । नगरबासीहरुबाट यही अपेक्षा लिएका छौं ।’ नगर उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विभिन्न पार्टीका नगर कमिटी तथा संघसंस्थाका प्रतिनिधिहरुले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगर प्रवक्ता माधव वलीले गर्नुभएको थियो ।