
भदौ २२
युवा शब्द सुन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा जोशजाँगर र उमङ्गले भरिएको एउटा मानवचित्र नाच्न थाल्छ । यस्तो किन पनि हुन्छ भने आजसम्म मानव समाजमा जेजति आविष्कार र परिवर्तन भएका छन्, ती सबै युवाको सक्रिय सहभागिता र पहलकदमीमा मात्र सम्भव भएका छन् । यस अर्थमा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका नायक हुन् । यसै सन्दर्भलाई लिएर चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले युवालाई लक्षित गर्दै भन्नुभएको छ– “युवाहरू हो, यो संसार तिमीहरूको हो ।” यसरी युवा शब्दले हाम्रो मस्तिष्कमा खिच्ने तस्बिर र माओत्सेतुङजस्ता महान् व्यक्तिको उक्ति सुन्दा युवा ऐतिहासिक जिम्मेवारी बोकेका समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् भन्ने मान्न सकिन्छ । तर आज अधिकांश युवामा यो ऐतिहासिक जिम्मेवारी र कर्तव्यबोध भएको पाइँदैन । उपभोक्तावादी संस्कारले गिजोलिरहेका बेला अध्ययनमा अरूचिका कारण युवाहरू झन् गैरजिम्मेवार र दिशाविहीन बनिरहेका छन् । बढ्दो बेरोजगारी र अशिक्षाले युवाहरूको आफ्नै भविष्य अन्धकारतिर यात्रारत छ । समाजमा यस्तो परिदृश्य देखिनु भनेको हामी सबैको भविष्य पछाडि धेकेलिनु हो । तथापि आज देशमा शिक्षित युवा नभएका पनि होइनन्, तर कमजोर चेतनाका कारण तिनिहरू कुनै न कुनै गलत प्रवृत्तिका शिकार भइरहेका छन्, जसका कारण युग बदल्ने ऐतिहासिक जिम्मेवारी बोकेका युवाशक्ति आज केही सीमित टाठाबाठाको स्वार्थ पूरा गर्ने भर्याङ मात्र बनिरहेका छन् । यो युवामा रहेका अन्तर्निहित क्षमता र शक्तिको विपरीत कुरा हुन् ।
हाम्रो देशको राजनीतिमा त झन् उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्न खोजिरहेका छन् । यो समाजका लागि दुःखद् कुरा हो भने आफ्नो स्वार्थपूर्ति गर्ने साधनको रूपमा मात्र आफूलाई प्रयोग गरिरहेका नेताबाटै ती युवाले आफ्नो सुन्दर भविष्यको निर्माण र देश विकासको अपेक्षा गर्नु झन् गम्भीर र डरलाग्दो स्थिति हो । त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सही र गलत छुट्याई समाजमा घट्ने विभिन्न घटना–परिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । तर चेतनाविहीनहरू समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको कि अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् । यो प्रवृत्तिले समस्याको जडसम्म कहिल्यै पुर्याउँदैन । नेपाली राजनीतिमा आज जेजति युवा देखिएका छन्, सबैभन्दा बढी यही प्रवृत्तिका शिकार बनिरहेका छन्, जसका कारण सत्यको पैरवी गरेर भन्दा नेताको चाकडी गरेर आफ्नो भविष्य सुरक्षित गर्न चाहने युवा आज नेताहरूको स्वार्थपूर्तिका लागि आफ्नो स्वाभिमानको समेत बलि चढाउन तयार छन्, सबेै युवा एक हुन जरुरी छ अब बिकास युवा बाट हुन्छ
तुल्सिपुर उपमहानगरपालिका वडा ३ गोविन्द भुसाल
लेखक आर्को भागमा