
१५ साउन,दाङ/ भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको सम्भावना कठिन बनेको छ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार साँझ सम्पन्न खेलमा आयोजक भारतसँग ८-० गोलको फराकिलो हार व्यहोरेसँगै नेपालको फाइनल यात्रा कठिन बनेको हो।
पहिलो खेलमा प्रतियोगिताकै कमजोर मानिएको माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै विजयी सुरूआत गरेको थियो। सोही लयलाई जारी राख्दै नेपालले दोस्रो खेलमा आर्थिक संकटले पिल्सिएकाे श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियोे।
यता, आयोजक भारतले भने प्रतियोगिता हारबाट सुरूआत गरेको थियोे। पहिलो खेलमा बंगलादेशसँग २-१ गोलले पराजित भएको भारतले दोस्रो खेलमा भने श्रीलंकालाई ४-० गोल अन्तले हराउँदै प्रतियोगितामा कमब्याक गरेको थियो।
आजको खेलमा नेपालसँग भारत पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिने थियोे। तर, तेस्रो खेलमा भारतले उत्कृष्ट कमब्याक गर्दै फाइनलमा लगभग स्थान सुरक्षित गरिसकेको छ।
अब प्रतियोगिताको फाइनल प्रवेश गर्न नेपालले बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गर्नुपर्ने छ।बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ। माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्नेछ।
मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्नेछ। फाइनल खेल शुक्रबार हुनेछ।
नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ। बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ। १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेका छन्।