२०८१ बैशाख ७ गते शुक्रवार

टरिगाउँ विमानस्थलको इन्धन डिपो निर्मान स्थलमा तालाबन्दी



१५ साउन,तुलसीपुर /दाङको तुलसीपुर १२ टरिगाउँ स्थित बिमानस्थलमा निर्माण भइरहेको इन्धन डिपो स्थलमा तालाबन्दी गरिएको छ । विमानस्थलमा आएको बाउजरलाई काठमाडौंबाट टोली आएपछि त्यसलाई रोक्न तालाबन्दी गरिएको हो । काठमाडौंबाट रामेछाप लैजाने तयारी रहेको भन्दै यसलाई रोक्नकालागि यस क्षेत्रका जनप्रतिनिधि, उद्योगी, ब्यबसायीलगायत सरोकारवालाले तालाबन्दी गरेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताईन् । ‘एयरपोर्टमा बाउजर आएपछि यस क्षेत्रका नागरिक खुसी थियौं’,उनले भनिन्‘तर, इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको बेला बाउजर लैजान खोजेपछि हामीलाई शंका लागेको छ ।’

काठमाडौंबाट ३/४ जनाको टोली आएर उक्त बाउजरलाई आजै काठमाडौ लैजाने तयारी गरेपछि ईन्धन डिपो स्थलको दुईवटा गेटमा तालाबन्दी गरिएको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । विमानस्थल विस्तारको पहल भइरहेको बेला यसरी बाउजर लैजान खोज्नुले विमानस्थल प्रति षडयन्त्र भएको हुन सक्ने भन्दै कुनै पनि हालतमा बाउजर लिन नदिनकालागि तालाबन्दी गरिएको उनको भनाई छ । यस पटक केन्द्रको बजेटले पनि सम्बोधन गरेको भन्दै विमानस्थल स्तरबृद्धिको काम भइरहेको बेला यसरी बाउजर लिनु गलत मनसाय भएको वडाध्यक्ष चौधरीले बताए ।

विगतमा दाङ ल्याउने भनिएको बाउजर एकैपटक जनकपुर लगिएको इतिहास भएको भन्दै आइसकेको बाउजरलाई लिन खोज्नुले शंका उत्पन्न भएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए । ‘बाउजर लैजादै छन्, भन्ने हिजो दिउसो ३ बजेतिर मलाई खबर आएको थियो’,उनले भने‘विगत २ बर्ष अघि तुलसीपुर ल्याउने भनिएको बाउजर जनकपुर लगिएको इतिहास पनि छ, अहिले पनि आईसकेको बाउजर लिनुले शंका उत्पन्न भएको छ ।नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठका अनुसार केन्द्रबाट लैजाने भनि निर्णय भएको र सोही अनुसार काठमाडौं पठाउन लागिएको हो । यसको सट्टामा अर्को बाउजर ल्याउन लागिएको हो ।‘यो पठाएर अर्को ल्याउने कुरा हो, स्थानीयले तालाबन्दी गरिदिनु भयो, उहाँहरुसंग कन्भिन्स गरेर काठमाडौं पठाउने तयारी गर्दैछु’,उनले भने‘उताको विग्रिएकाले त्यो मर्मत भएपछि दाङ ल्याईने छ ।’ तुलसीपुरको इन्धन डिपो सञ्चालनमा नआएकाले पनि यहाँ राखिरहनु भन्दा उता लगेर काम चलाउँदै गर्ने र यहाँ सूचारु भएमा तत्काल ल्याउने गरि निर्णय भएको उनले बताए ।

बाउजरले डिपोबाट जहाजसम्म इन्धन ओसारर्ने काम गर्छ । त्यसकालागि जेठ १२ गते तुलसीपुरमा बाउजर ल्याएपछि यस क्षेत्रका नागरिक खुसी भएका थिए । डिपो निर्माणको काम पनि अन्तिम चरणमा रहेकाले दाङ–काठमाडौं हवाई भाडा कम हुने अपेक्षा लिइएको थियो । तर, बाउजर लिने कुराले यस क्षेत्रका नागरिक निराश भएका छन् । ११ हजार लिटर क्षमताको उक्त बाउजर रामेछापको मन्थली विमानस्थलमा लैजाने तयारी गरेको छ । टरिगाउँ एयरपोर्ट २०११ सालमा स्थापना भएको हो । उक्त विमानस्थलमा अहिले हप्तामा पाँच दिन उडान भर्ने गरेको छ । शनिबार र शुक्रबार बाहेक सबै दिन उडान भर्ने गरेको उक्त विमानस्थलमा ठूला जहाज बस्न नसक्दा यात्रुहरु महंगो भाडा तिर्न बाध्य छन् ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार