
पुस १३
जाजरकोट सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ ।
पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाइएको हो ।
रमाइलो मेला तथा सांस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । ‘विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ,’ प्राचार्य भक्तबहादुर मल्लले भने । मेला लगाएवापत् विद्यालयलाई ५० हजार रुपैयाँ दिएकोसमेत उनले बताए ।
कोभिडका कारण लामो समयसम्म बन्द भएर भर्खरै मात्र पढाइ सञ्चालन भएको विद्यालयमा मेला लगाएर पढाइ अवरुद्ध गर्नु र विद्यालयको हाताभित्र फोहर गरेर वातावरण बिगारेको भन्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत दलबहादुर घर्तीले असन्तुष्टि व्यक्त गरेका छन् ।
भेरी नगरपालिकाले दुई वर्षअघि विद्यालयमा मेला लगाउन नपाउने निर्णय गरेको थियो ।