
मङ्सिर १६
नेपाली कांग्रेको १४औं महाधिवेशनअन्तर्गत आज (बिहीबार)देखि प्रदेश अधिवेशन सुरु हुँदैछ । कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो ।
आज एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदैछ । कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ । १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ ।
प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन् ।
कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएका जनाएको छ । कांग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन् ।
प्रदेश अधिवेशन गर्नका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ ।