
असोज २२।
माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई हराएको छ । बिहीबार राति भएको समूह चरणको खेलमा साविक विजेतासमेत रहेको माल्दिभ्सले बङ्गलादेशलाई २–० गोलले हराएको हो ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा घरेलु टिमलाई जिताउन हाम्जा मोहम्मद र अली अश्फाकले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाए । खेलको ७४औँ मिनेटमा माल्दिभ्सले पेनाल्टीको मौका पाएको थियो, जसमा अश्फाकले गोल गर्दै माल्दिभ्सलाई २–० गोलको जित दिलाए ।
जितसँगै माल्दिभ्सले पहिलो जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले दुई खेलमा तीन अङ्क जोडेको छ । बङ्गलादेश भने चार अङ्कसहित दोस्रो स्थानमा छ । उसले तीन खेल खेलेको छ ।
यता, बङ्गलादेशको हारबाट नेपाललाई फाइदा पुगेको छ । दुई खेल खेलेको नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ ।