२०८१ माघ २४ गते शुक्रवार

बिकास को संभावना बोकेको तुल्सिपुर उपमहानगरपालिका-राप्ती सञ्चार



दिपक पोख्रेल अध्यक्ष
समाजबादी विद्यार्थी युनियन दाङ

दाङ–जिल्लाको उत्तरी भेगमा सुन्दर–शान्त वाताबरणमा अवस्थित दाङ जिल्लाकै मुटु हो तुल्सीपुर उप–महानगरपालिका । ३८४.६३ वर्ग कि.मि.क्षेत्रफल ओगटेको यस उप–महानगरपालिकामा १९ वटा वडा छन् । यहाँ विभिन्न जातीय, सांस्कृतिक, तथाआर्थिक पृष्ठभूमि बोकेका मानिसहरुको मिश्रित बसोबास रहेको पाइन्छ ।

यस ठाउँमा यहाँका रैथाने बाहेक पनिविभिन्न ठाँउहरुबाट बसाईसराई गरेर आएको मानिसहरुको संख्या अधिक छ । प्राकृतिक तथा भौगोलिक रुपमा यस क्षेत्रलाई हेर्ने हो भने भोलिका दिनमा यस क्षेत्रको मात्रनभई सिंगो दाङ जिल्लाको आर्थिक संवृद्धिमा यो उप–महानगरपालिका अग्रस्थानमा रहने छ । यसको सम्भावना देखाउने धेरै पक्षहरु छन्, जस्तै यहाँ नेपालको दोश्रो पुरानो विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालय, राप्ती प्रादेशिक अस्पताल,प्रादेशिक आयुर्वेदिक चिकित्सालय र दाङकै एकमात्र विमानस्थलपनि यही अवस्थित छ ।

साथै पर्यटकीय स्थलहरुमा चमेरी गुफा, ऐतिहासिकस्थल छिल्लिकोट दरवार, राप्ति शान्ती बाल उद्यान लगायत विभिन्न नदी तथा खोलानालाहरु छन् । त्यस्तै सरकारी तथा निजी कम्पनी, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु यस क्षेत्रमा विगत धेरै वर्षदेखि सञ्चालनमा रहेका छन् । आधुनिक तथा वैज्ञानिक शिक्षाको लागि सामुदायिक तथा निजी स्तरमा सञ्चालित विभिन्न शिक्षण संस्थाहरु यस क्षेत्रमा पर्याप्त छन् । रोल्पा, रुकुम र सल्यानको समेत व्यापारिक केन्द्र रहेको तुलसीपुर आफैमा एउटा सुनौलो भविष्य हो ।

विभिन्न किसीमका अवसर र सम्भावना रहेको यस तुलसीपुर अपेक्षितरुपले धेरै पछाडि परेको छ । यसका आफ्नै समस्याहरु रहेका छन् । राप्ती अञ्चललाई केन्द्र बनाई जनयुद्ध देखि जन–आन्दोलन होस या त्यो भन्दा पहिलेका परिवर्तनकारी आन्दोलनह हुन । सबै कुरामा दाङ र राप्ती अग्रपंक्तिमा छ । त्यस्तै तुलसीपुरको पनि आफ्नै इतिहास छ । युद्धकालमा रोल्पा, सल्यान, रुकुम तथा प्यूठान पाल्ने दाङ थियो । त्यसैले परिवर्तनहरुमा दाङ ( तुलसीपुर )क्षेत्रको जति योगदान अरुको छैन , भन्दा मलाई अप्ठेरो लाग्दैन । र यो हावादारी कल्पनामा गरिएको गफ पनि हैन । यथार्थको गर्भवाट खोतलिएका शब्दहरु हुन ।

लोकतान्त्रिक आन्दोलनका पहिलो सहिद दाङकै हुन । तर दुभाग्र्य विभिन्न राजनीतिक दलका विभिन्न नेताहरु सरकारमा गएपनि कसैले पनि जनताको लागि केहीगर्न सकेका छैनन् ।

त्यसैले दाङ र तुलसीपुर उप–महानगरपालिका केन्द्रिय नेताहरुदेखि स्थानीय नेताहरुको चपेटामा परेको छ । चुनावको बेलाविभिन्न आश्वासन देखाएपनि पछि कसैलेपनि फर्केर हेरेको पाईदैन । गणतन्त्र आइसकेपछिका कुरा गरौँ भनेपनि यस ठाँउबाट चुनावमा फरक–फरक पार्टीका नेताहरुले जितेर सरकार सम्म पुगेका छन् । तैपनि कसैलेपनि केहि गरेको देखिदैन । राजनीतिक हस्तक्षेपदेखि अरु आर्थिक र सामाजिक समस्या खेपिरहेका छन् । वर्षेनी खोलाले गाडीहरु बगाउने र धनजनको क्षतिहुने क्रम रोकिएको छैन । विकासका जति गुलिया नारा लगाएपनि त्यसको प्रतिफल तुलसीपुरवासीले केही पाएका छैनन् । विभिन्न सपना देखाउँदै भोट माग्ने राजनीतिक दलहरुले विकासका योजनामा परी हालेपनि स्थानीय नेता भनाउँदाहरु र ठेकेदारहरुले राज्यस्रोतलाई आफ्नो कमाइखाने भाँडो बनाउने बाहेक अरु केही गरेनन् । यस ठाँउमा परेका विकासका योजना अन्यत्रै लगेको पाईएको छ । त्यो पनि राजनैतिक भागवण्डा नमिलेर कति बजेट त फ्रिजनै भएको रेकर्डहरु छन् ।

यी यावत राजनीतिक लगायतका समस्याहरुबाट तुलसीपुरवासीले कहिले मुक्तिपाउने ? जनताहरु समस्याको मुक्तिकालागि राणा शासन विरुद्ध होस या पञ्चायत विरुद्ध होस,०४६ सालको जन–आन्दोलनदेखि जनयुद्धसम्म र राजतन्त्र विरोधी ०६२÷०६३ को जनआन्दोलनमा लडिरहे । अब त मुक्तिपाईन्छ कि ? भनेर बसेका जनता अहिलेसम्म पनि केहि नहुँदा रन भुल्लमा छन् । राजनीतिक नेतृत्वसँग विरक्तिएका छन् । हामी युवाहरु पनि ति गुलिया भाषणसँग राम्रै परिचित छौँ । धेरैका भाषण र आश्वासनले केहि भएन अब हामी युवाले नै अगाडी नबढी भएन । “अबको निकास, आर्थिक विकास”भन्ने मुल नारा लिएर दृढ विश्वासका साथ हामी विकासमा जुट्नु आवश्यक छ । धुलो उड्ने बाटो वा अव्यवस्थीत सरकारी अस्पताल यीनको स्तरोन्तीका लागि हामी आफैँ लाग्नुपर्छ । अरु कसैको आसमा बसेर हाम्रो सामाजिक परिवर्तन सम्भव छैन । युवा जुटे सबैथोक हुन्छ । देशलाई स्वीट्जरल्याण्ड बनाउनेदेखि हावाबाट विजुली निकाल्ने, नेपालमा पानीजहाज ल्याउने सम्मका भाषण सुनेर पनि मख्ख परियो । अब तिदिनहरु समाप्त भएजस्तो लाग्छ । अब कुरा होईन काम गरेर देखाउने बेला आएको छ ।

अब विकास निर्माणमा हामी साथ दिन्छौँ तपाईहरुलाई, तपाई साथ दिनुस् हामीलाई, अबको बाटो संगसंगै हिडौँ । तपाईँ र हाम्रो सहकार्य र एकत्रित शक्तिले नै तुलसीपुरको वर्तमान अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने मेरो विश्वास छ । यो सहकार्य र सहयात्राको लागि सम्पूर्ण तुलसीपुरवासीहरु अगाडी बढेमा तुलसीपुर उप–महानगरपालिकालाई देशकै उत्कृष्ट शहर बनाउन सकिन्छ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार