२०८१ बैशाख ७ गते शुक्रवार

आज देखि एमालेको विधान महाधिवेशन



असोज १५।
नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न ऐतिहासिक मानिएको नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ ।


अन्तरविरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसद्को ठूलो दल एमालेले करिब ६ हजार प्रतिनिधिलाई सहभागी गराएर गोदावरीस्थित नवनिर्मित सनसाइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो ।


आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ । एमालेको गत २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो ।


महाधिवेशनको उद्घाटन आज असोज १५ गते पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको विधान महाधिवेशन मूल व्यवस्थापन समितिले हिजो बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


उद्घाटन सत्रलाई पार्टी अध्यक्ष ओलीलगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार