असोज ०१।
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको ११ औं बैठक आजबाट सुरु हुँदैछ । भाद्र २५ गतेका लागि बोलाइएको बैठक एससिसीका उपाध्यक्ष सुमार नेपाल आएर गरेको चलखेल र दलाल नेताहरुको हर्कतको विरुद्ध बृहत प्रदर्शनका कारण केही दिन पछि सारिएको थियो । नेकपाको केन्द्रीय समितिको ११औं बैठकमा जेल हिरासतबाट निस्केका र केही समय अगाडी केन्द्रको जिम्मेवारी पाएका नेताहरु बैठकमा सहभागी हुदैछन । बैठक तनहुँको बन्दीपुरमा बस्दैछ ।
नेकपा स्रोतका अनुसार महाधिवेशन केन्द्रित एजेन्डा प्रमुख बन्ने बताइएको छ । केन्द्रिय समिति बैठकका एजेण्डा तय गर्न विहीबार सचिवालय बैठक बसेको थियो । महासचिव विप्लवलसहित पाँच सदस्य सदस्यीय सचिवालय बैठकले पार्टीका आगामी कार्यक्रम, महाधिवेशन, सरकारसँग गरेको तीन बुँदे सहमतिलगायतका विषय बैठकका एजेण्डा ठोस गरेको स्रोतको जानकारी दिएको छ ।
आज देखि ५ दिन सम्म चल्ने बैठकमा महासचिव विप्लवले तयार गरेको राजनीतिक प्रतिवेदन अध्ययनको लागि केन्द्रीय सदस्यलाई वितरण गरिएको छ । आज खाना खाएर बैठक बस्ने तयारी रहेको बुझिएको छ ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ प्रतिवन्ध लगाएपछि सबै केन्द्रीय सदस्य सहभागी भएको यो बैठक नै पहिलो हो । प्रतिबन्धका बीचमा भएका बैठकमा केही नेताहरु जेलमा थिए । सरकारसँग तीन बुँदे सहमतिपछि बसेको बैठकमा पनि केही नेताहरु जेलमै थिए भने थप गरिएका नेताहरु पहिलो पटक बैठकमा सहभागी भएका छन् ।