२०८१ कार्तिक १९ गते मङ्गलवार

आज नवौं राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान कूटनीति’ मार्फत लगानी भित्र्याउने रणनीति



असोज ०१
नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति) मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ । विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका विदेशीस्थित राजदूतहरू मार्फत यस रणनीतिलाई कार्यान्वयन गराउने तयारी गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी ल्याउन साइन्स डिप्लोमेसीमार्फत अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।
नेपालका विदेशस्थित राजदूतलाई यस विषयमा जानकारी गराउन सके नेपालमा लगानी बढ्ने विश्वास उनले व्यक्त गरे ।

‘लगानीले उत्पादन बढाउँछ, जनताको जीवनस्तर सहज हुन्छ त्यसैले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ,’ विज्ञान तथा प्रविधि सचिव आचार्यले बताए ।

नेपालको परम्परागत तथा उदीयमान क्षेत्रमा लगानी ल्याउन सकिने अवस्था रहेको उनको भनाइ छ । मन्त्रालयले यस विषयमा आवश्यक रणनीति तयार पार्न असोज १ गते विज्ञान दिवसको अवसर पारेर विभिन्न देशका राजदूतसित परामर्श गर्दैछ ।
यस पटक विज्ञान दिवस सप्ताहव्यापी रूपमा मनाउन लागिएको छ । खासगरी विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अनुसन्धानमा संलग्न शिक्षक तथा विद्यार्थीलाई आकर्षित गर्ने मुख्य उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

असोज १ गते मूल समारोह समितिले औपचारिक रूपमा विज्ञान दिवस मनाउँदैछ । मन्त्रालयका अनुसार दिवसकै अवसरमा विज्ञान पत्रकारिता, एरोटोनिकल प्रविधि, अन्तरिक्ष प्रविधि, जैविक प्रविधि, उदीयमान प्रविधि र विपत् न्यूनतमसम्बन्धी प्रविधि पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यी पुरस्कार शुक्रबार घोषणा गरिने जानकारी मन्त्रालयले दिएको छ । नेपालमा विज्ञान र प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अमृत साइन्स क्याम्पस स्थापनको अवसर पारेर २०७० साल असोज १ गतेदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार