२०८० असोज ८ गते सोमवार

व्यक्तिगत रिसिबीका कारण युवतीले गरिन् घाँटी रेटेर शिक्षक को हत्या



दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या संलग्नका प्रहरीले एक युवतीलाई सार्वजनिक गरेको छ। गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना रानाले व्यक्तिगत रिसिबीका कारण घाँटी रेटेर हत्या गरेको स्वीकार गरेकी छन् ।

उनले भदौ २८ गते राति धारिलो वस्तुले घाँटीमा प्रहार गरेर सोही ठाउँका ४२ वर्षीया नगेन्द्र कुमार विसीको हत्या गरेकी हुन् । ​विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षक थिए । शिक्षक विसीको सोही विद्यालयको बरण्डामा मंगलबार बिहान ७ बजेतिर शव भेटिएको थियो । बिहान दूध पु–याउन जाँदै गरेका स्थानीयले शिक्षक विसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारको कमाण्डमा प्रहरी चौकी लालिकाँडाबाट खटिएको टोलीले उक्त घटनाको घटनास्थल, लासजाँच, मुचुल्का, घटनास्थलमा भेटिएका सबुत प्रमाण संलग्न र खानतलासी बरामदी मुचुल्का समेत तयार गरेर अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले अनुसन्धानको क्रममा ती महिलाले हत्या गरेको स्वीकार गरेको जानकारी दिए ।

उनले भने,‘ अपराध स्वीकार गरेकै आधारमा पीडित पक्षबाट जाहेरी दरखास्त लिई मुना रानालाई कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ ।’ घटना बारे थप अनुसन्धान पनि भइरहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार