
काठमाडौ भाद्र १५।
माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिए । नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुने छन् । इन्चार्ज सापकोटाका अनुसार वाईसीइएलको विधानमा १० प्रतिशत सदस्यपछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुने छन् । उनले भने, ‘१० प्रतिशतपछि मनोनित हुने गरी २३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेका छौं । यो केन्द्रीय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।’