२०८१ साउन ६ गते सोमवार

रोनाल्डो म्यान्चेस्टर फर्कने पक्का



म्यानचेस्टर युनाईटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ ।

युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमती बनेको बताएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ ।

क्लबका सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक रहेको युनाईटेडले आधिकारिक रुपमा लेखेको छ । युनाईटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गर्ने बताईएको छ ।

बिहिबार मात्रै मेडिकल गरेपछि उनी युभेन्ट्स छाड्ने पक्का भएको थियो । युनाईटेडको शहरी प्रतिद्धन्दी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न चाहेको थियो । तर युनाईटेडलेनै इच्छा देखाएपछि सिटी पछि हटेको हो । युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नान्डेजले रोनाल्डोको भविष्यको विषयमा कुराकानी गरिरहेको बताएका थिए ।

युनाईटेडलेनै रोनाल्डोलाई पोर्चुगलको स्पोर्टिङ लिस्वोनबाट ईङ्ल्याण्ड ल्याएको थियो । रोनाल्डोले युनाईटेडमा ६ सिजन बिताएका थिए । सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप जिताएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार