२०८० चैत्र १५ गते बिहिवार

मेस्सीको स्वागतमा नेयमारले लेखे ‘ब्याक टुगेदर’



काठमाडौँ : एक समय थियो, जतिबेला नेयमार मेस्सीको छायाबाट उम्किन चाहन्थे । उनले २०१७ मा त्यो निर्णय लिए । र, अहिलेसम्मकै महंगो मूल्यमा फ्रेन्च क्लब पीएसजीमा आबद्ध भए । यो मेस्सीका लागि आश्चर्यचकित पार्ने समाचार थियो ।

तर नेयमार मेस्सीविना पीएसजीमा खुशी रहन सकेनन् । लुइस स्वारेज र मेस्सीसँग मिलेर सन् २०१५ मा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे उपाधि जितेका नेयमार बार्सिलोना छाडेर पीएसजी लागेपनि सोचे जस्तो सफलता पाउन सकेनन् ।
यता मेस्सी पनि बार्सिलोनामा एक्लै थिए । स्वारेज उनका साथी भएपनि उनले नेयमारलाई मिस गरिरहेका थिए । नेयमारलाई बार्सिलोना फर्काउने प्रयास पनि भयो । तर नेयमार, बार्सिलोना र मेस्सी यसबीचमा सफल हुन सकेनन् ।
अहिले समय यस्तो आइदियो, नेयमार बार्सिलोना फर्किने होइन, मेस्सी पीएसजी जानुपर्ने अवस्था आयो । अन्ततः २१ वर्षको बार्सिलोना बसाई टुंग्याएर मेस्सी पीएसजी जाँदैछन् । बुधबार सम्झौता भएपछि मेस्सी नेयमारकै स्टाइलमा पेरिस रंगशालामा सार्वजनिक हुनेछन् ।
यो संयोग मानिएला । तर मेस्सी र नेयमारका लागि चार वर्षदेखिको पखाई हो, जुन केहीबेरमा पुरा हुँदैछ । मेस्सी आफ्नो जेट विमान चढेर बार्सिलोनाबाट पेरिसका लागि उडेका छन् । मेस्सीको स्वागतमा नेयमारले इन्स्टाग्राममा आगोको इमोजी राखेर लेखेका छन्, ‘ब्याक टुगेदर, लियोनल मेस्सी एण्ड नेयमार जुनियर ।’
साच्चै विश्वकप जितिसकेका एमबाप्पेको फरवार्ड लाइनमा मेस्सी र नेयमार जोडिनु फुटबल दर्शकका लागि पनि पर्खाईको विषय हो ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार