असार२८” नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले सोमबार गठबन्धनको बैठकपछि बाहिरिँदै भने– ‘गठबन्धनको सरकारमा सहभागी नहुन सक्छौँ, देउवाजी एक्लौटी ढंगले सरकार नचलाउनू ।’
यसो भन्नुको मतलब– पार्टीभित्र अन्तरकलह मच्चिँदा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दा ‘हामी २३ जना सांसद तपाई (शेरबहादुर देउवा) लाई प्रधानमन्त्री बनाउन आयौँ, अब अहिले एमाले एकताको तयारीमा छ अब बिदा भयौँ, पार्टी एकता भए प्रधानमन्त्रीमा विश्वासको मत नदिन पनि सक्छौँ, पार्टी एकता नभए दिन सक्छौँ’ भन्ने नेता पन्तको भनाइको आशय थियो ।
आइतबार साढे १० बजे सिंहदरबारमा एमाले एकता गर्न १० बुँदे सहमति भएको भोलिपल्ट सोमबार सर्वाेच्च अदालतले मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भन्ने परमादेशले फेरि नेपाल समूह ‘न्यूट्रोल’मा देखिएको छ ।
पहिलो त– दश बुँदे सहमतिको अन्तिम रुप कस्तो हुन्छ ? त्यसमा ओली नेपालबीच पावर सेयरिङ कुन हिसाबले हुन्छ ? प्रधानमन्त्री बनाउन मुख्य हात मानिएका नेपाललाई कुन रुपले पार्टीमा हेरिन्छ ? जबकि आइतबारे १० बुँदे सहमतिमा यी कुरा उल्लेख छैनन् ।
यसरी १० बुँदे सहमतिपछि एकता र सर्वाेच्चको फैसलापछि न यता न उता जस्तो अवस्थामा देखिएको नेपाल समूहले भने तत्काल सहमतिले अन्तिम रुप नलिएसम्म देउवा नेतृत्वको गठबन्धनको सरकारमा सहभागी नहुने संकेत दिएको छ ।
सोमबार नेता नेपालनिवास कोटेश्वरमा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अहिले दुई भागमा विभाजित एमाले पार्टी एक भइरहेको अवस्थामा गठबन्धनको सरकारमा सामेल हुन नसक्ने नेता पन्तले बताए ।
उनले भने, ‘पार्टीको औपाचारीक बैठकले सरकारमा सहभागी हुने नहुने निर्णय गर्छ । अध्यक्ष ओली, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसँग छलफल गरेर अघि बढिन्छ ।’
पार्टीमा २ वटा एमाले छ तर, कुन पार्टीको निर्णयपछि सरकारमा जाने ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पार्टीको छलफलपछि टुंगो लगाइने उनले बताए । कुन पक्षको एमालेको भन्नेमा उनले एकताको प्रयास जारी रहेको बताए ।
अर्काे मुख्य कुरा अब नेपाल समूहले देउवालाई साथ दिए १७ महिना सरकार सञ्चालन गर्न सक्छन् नत्र प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र बहुमतका साथ विश्वासको मत नलिएको खण्डमा एक महिनामै उनको पद जाने देखिन्छ ।
यससन्दर्भमा देउवालाई अब १ महिनापछि विश्वासको मत दिने पक्षमा के गर्नुहुन्छ ? भन्ने सञ्चारर्मीको प्रश्नमा नेता पन्त भन्छन्, ‘सिंगो एमाले पार्टी बनाउन हाम्रो भूमिका रहने र पार्टीले दिन पनि सक्छ नदिन पनि सक्छ ।’
यद्यपि, नेता पन्तको भनाइअनुसार आजको गठबन्धनको बैठकमा नेपाल समूहको निचोड भनेको– हाम्रो साथ भनेको तपाई (देउवा) लाई यत्तिसम्म मात्र हो ? अब उप्रान्त त्यतिबेलै हेरौँला ।