२०८१ बैशाख ६ गते बिहिवार

गण्डकी सरकारले स्थानीय तहको विपद् कोषलाई चार करोड २५ लाख दिने




पर्वत । असार २५रगण्डकी प्रदेश सरकारले प्रदेशका प्रत्येक स्थानीय तहमा रहेका विपद् कोषमा पाँच पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। विपद् व्यवस्थापनका लागि ११ जिल्लाका ८५ वटै स्थानीय तहलाई पाँच लाखका दरले चार करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने बिहीबार निर्णय भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।

स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र राहत तथा पुनर्स्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्न पाउने गरी रकम दिन लागिएको खड्काले बताए। चालु आर्थिक वर्षको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने भएको पनि उनको भनाइ छ।

‘स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम गर्न, समस्या परेको बेलामा उद्धार गर्न, विस्थापित भएकाहरूको पुनर्स्थापना खर्च गर्ने उद्देश्यले प्रदेश सरकारले उक्त रकम उपलब्ध गराउने भएको हो,’ उनले भने, ‘चालु आर्थिक वर्षको बजेटबाट नै यसको व्यवस्थापन गर्न लागेका छौं। यही बेलामा प्राकृतिक विपदहरु आइरहेका छन्। वर्षाले जनजीवन कष्टकर बनाइरहेको छ। नयाँ आर्थिक आउला र पैसा दिउँला भनेर के गर्नु? भोक लागेको बेलामा खान पाए पो भोजनको अर्थ हुन्छ।’

अहिले बाढी पहिरोको प्रकोप निकै बढेकाले प्रदेश सरकारले सिधै सहयोग गर्नुभन्दा स्थानीय सरकारले त्यो काम गर्दा राहत पाउनुपर्ने मान्छेले राहत पाउने र उद्धार तथा विपद्सम्बन्धी प्रतिकार्य पनि छिटो हुने भएकाले उक्त रकम स्थानीय तहलाई जिम्मा लगाएको मन्त्री खड्काले बताए। प्रदेशभरका जिल्लाहरूमा बाढी पहिरो तथा अन्य कुनै विपद्का कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको र आवश्यकताअनुसार उद्धार, राहत तथा पुनर्स्थापना गरिने उनको भनाइ छ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार