२०८१ बैशाख १३ गते बिहिवार

राप्तीको बाढीमा फसेका ४ जनाको उद्धार गर्न शसस्त्र प्रहरी परिचालन



दाङमा बाढीमा फसेका चार जनाको उद्धारको लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ।

लमही नगरपालिका वडा नम्बर ७ का ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ की ४५ बर्षीया साबित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर ३ का २६ वर्षकै गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण बीचमा फसेकोले उद्धार गर्न लागिएको छ।

जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले भैंसी पाल्नको लागि उनीहरु गोठ बनाएर लमही नगरपालिका ७ हस्नापुरको टापुमा बस्दै आएका थिए।

अबिरल बर्षाको कारण लमही ७ हस्नापुर र राजपुर गाउँपालिकाको वेला घाटबीच टापुमा फसेका उनीहरुको उद्धारको लागि २५ जना सशस्त्र प्रहरी खटिएको अर्यालले बताए।

सशस्त्र प्रहरी बल भालुवाङबाट उपरीक्षक टोपबहादुर खनालको कमाण्डमा ९ जना र लमहीस्थित अर्जुन खोलामा रहेको सशस्त्र प्रहरी क्याम्पबाट थप १६ जना सशस्त्र प्रहरी रबरबोटसहित उद्धारको लागि बुधबार बिहान ६ बजे नै घटनास्थलतर्फ लागेको अर्यालले बताए।

नदीमा फसेकाहरु यसअघिदेखि नै उक्त स्थानमा भैंसी चराउनका लागि अस्थायी टहरा बनाएर बस्ने गरेको खुल्न आएको छ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार