तुलसीपुर, मङ्सिर ८।
तुलसीपुर उपमहानगरपालिका–३, राम्रीस्थित प्रसिद्ध धार्मिकस्थल श्री नरसिंह भैरव मन्दिरमा आज मंगलबार भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थीहरूको बाक्लो उपस्थिति देखिएको छ।
आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ बोका, भाले लगायतका पूजा तथा बलि चढाउन दाङसहित विभिन्न जिल्लाबाट भक्तजनहरू नरसिंह भैरव बाबाको दर्शन गर्न आएका छन्।
मन्दिरमा आज एकै दिन ६ सयभन्दा बढी बोका र २ सयभन्दा बढी भालेको बलि चढाइएको छ भने करिब २ हजार १ सयभन्दा बढी भक्तजनले बाबाको दर्शन गरेको बताइएको छ।
बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरूको घुइँचो लागेपछि पूजा–आराधना र दर्शनका लागि आउनेहरूको चहलपहल निकै बढेको थियो। भक्तजनहरूले श्रद्धा र भक्तिपूर्वक नरसिंह भैरव बाबाको पूजा गर्दै सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गरेका छन्।
मनोकामना पूरा हुने विश्वास, टाढाटाढाबाट भक्तजनको आगमन
नरसिंह भैरव बाबाप्रति गहिरो आस्था राख्ने भक्तजनहरू आफ्नो भाकल पूरा भएपछि पुनः मन्दिरमा आउने र पूजा–आराधना गर्ने परम्परा रहेको छ। यही धार्मिक विश्वास र आस्थाका कारण मन्दिरमा दिनप्रतिदिन भक्तजनहरूको आकर्षण बढ्दै गएको छ।
आज मंगलबार मन्दिरमा लागेको भक्तजनको घुइँचोले नरसिंह भैरव बाबाप्रतिको श्रद्धा र विश्वासलाई थप उजागर गरेको छ।








