दाङ, तुलसीपुर – विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा तुलसीपुरमा आज एक विशेष कार्यक्रमका बीच ८० वर्षमाथिका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
त्रिवेणी असहाय वृद्धवृद्धा कल्याण समाजको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष पहलमान भण्डारीको अध्यक्षता थियो। सो अवसरमा तुलसीपुर उपमहानगरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकाल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्ली भण्डारी, सरस्वती चौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर डाँगी, थर्कोट कृषि सहकारी संस्थाका अध्यक्ष मेघराज पाण्डे, मुकुन्द काफ्ले, मोहन पाण्डेलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समाजका उपाध्यक्ष रामप्रसाद बस्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समाजका सल्लाहकार विजय मल्लले गर्नुभएको थियो। करिब ५० वर्षअघि स्थापना भएको यस संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिँदै भावी पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखेको जानकारी दिइएको छ।
प्रमुख अतिथि ढकालले ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्दै संस्थालाई वडा कार्यालयमार्फत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले संस्थाको गतिविधिको प्रशंसा गर्दै भविष्यमा पनि साथ–सहयोग गर्ने आश्वासन दिएका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष पहलमान भण्डारीले उपस्थित सम्पूर्ण अतिथिलाई धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभयो।










