२०८१ माघ २४ गते शुक्रवार

पकहाँमैनपुर संघर्ष युवा समाजद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न



पर्सा ।। पकहाँमैनपुर गाउँपालिका वडा नं. ३ मा रहेको पकहाँ स्वास्थ्य चौकीमा पकहाँमैनपुर संघर्ष युवा समाजको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा तीनजना महिला सहित ३१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रम पकहाँमैनपुर संघर्ष युवा समाजका अध्यक्ष आदित्य शर्माको अध्यक्षतामा सुरु भएको थियो। यसको उद्घाटन नेपाल रेड क्रस सोसाइटी पर्सा शाखाका निवर्तमान सभापति तथा सिद्धार्थ माविका प्रधानाध्यापक बिनोद मेहताले गरेका थिए।

रक्तदान गर्ने व्यक्तिहरूमा सुबोध सहनी, मुकेश मेहता, राजन साह, रवि दास, रवीन्द्र चौरसिया, पूजा चौहान, प्रमिला यादव, आशा देवी लगायत ३१ जनाको सहभागिता रहेको थियो।

त्यस्तै, कार्यक्रममा संस्थाका पदाधिकारीहरू महिला उपाध्यक्ष लालसा देवी, कोषाध्यक्ष किरण पटेल, महासचिव विजय कुमार सहनी, सचिव चन्देश्वर कुमार यादव, सहसचिव नितेश कुमार यादव तथा सदस्यहरू रवीन्द्र चौरसिया, धीरज वर्णवाल, आकाश पटेल, मुकेश साह, शेषनाथ साह गोढ, शंकर ठाकुर हजाम र सरोज शर्माको उपस्थिति रहेको थियो।

यसका साथै, कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य चौकीकी अ.न.मी पूजा चौहान, प्रमिला यादव, नेकपा एमालेका कमिटी अध्यक्ष अकलेश कुमार शाह, युवा नेता प्रमोद पटेल, नेपाली कांग्रेसका नेता सन्तोष पटेल, रामसेवक पाण्डे, धोरे चौकीका प्रहरी सहायक निरीक्षक अरविन्द कुमार यादव, पकहाँ वि.ओ.पीका प्रहरी नायब निरीक्षक रामेश्वर कार्की लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बिनोद मेहताले संघर्ष युवा समाजले गरेको यस्तो सामाजिक कार्य सराहनीय रहेको भन्दै यस प्रकारका गतिविधिहरूलाई निरन्तरता दिन आग्रह गरे। उनले ग्रामीण क्षेत्रमा युवाहरूको लागुऔषध दुर्व्यसन र अन्य नकारात्मक क्रियाकलापले समाजमा नराम्रो असर गरिरहेको भन्दै त्यसको सुधारका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए।

त्यस्तै, पकहाँ वि.ओ.पीका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले युवाहरू संघर्षशील हुनुपर्नेमा जोड दिँदै भने, “हाम्रो शरीरमा रहेको रगत खेर जानुभन्दा अरूको जीवन बचाउन योगदान गर्नुपर्छ। समाज र देश विकासका लागि युवाहरूको भूमिका अपरिहार्य छ। संघर्षले मात्र सकारात्मक परिवर्तन सम्भव छ।”

धोरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अरविन्द यादवले संघर्ष युवा समाजको सक्रियतालाई प्रशंसा गर्दै समाजका लागि राम्रो कार्य गर्न सधैं सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहले नयाँ संस्था भए पनि छोटो समयमै समाजका लागि यस्तो महत्वपूर्ण कार्य गर्नु सराहनीय रहेको बताए।

संस्थाका अध्यक्ष आदित्य शर्माले समाजमा व्याप्त विकृति, कुरीति र भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने प्रतिज्ञा गर्दै संस्था सधैं समाज विकासमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा नेपाल रेड क्रस सोसाइटी वीरगञ्ज ब्लड बैंकका प्रतिनिधि जितेन्द्र महतो कुशवाहाले पकहाँमैनपुर संघर्ष युवा समाजलाई धन्यवाद दिँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति : २०८१ माघ ५ गते आइतवार