२०८१ माघ २५ गते शनिवार

भाथा धामलाई धार्मिक पर्यटकीयस्थल को ,सौन्दर्यकरणका लागि खानेपानी मन्त्री यादवसंग आग्रह



बिनोद यादव :- पर्साको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल दुग्धेश्वर महादेवको मन्दिर अर्थात भाथा धामको सौन्दर्यकरणका लागि पहल गरिदिन नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवसंग आग्रह गरिएको छ ।

पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ अन्तर्गत पर्ने जंगलभित्र रहेको प्रसिद्ध दुग्धेश्वर महादेवको मन्दिर र त्यस क्षेत्रको भाथाधाममा साउन महिना भरि भव्य मेला लाग्ने गर्छ । उक्त मेलामा नेपाल र भारतका लाखौं दर्शनार्थी र भक्तजनहरु पुग्ने गरेका छन् । यसका साथै अन्य महिनामा पनि त्यहाँ मेला लाग्ने गर्दछ ।

शनिबार वीरगन्जस्थित मन्त्री यादवको निजी निवासमै पुगेर जसपाका नेता दीपक यादव र भाथा मेला समितिसहितको टोलीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएको हो । मेला समितिले भाथाधाममा पूर्वाधार निर्माणका साथै सौन्दर्यकरणका लागि मन्त्री यादवसंग आग्रह गरेको हो । भाथा धाममा आउने तिर्थालुहरुलाई स्वच्छ खानेपानी, व्यवस्थित शौचालय लगायतका पूर्वाधार निर्माणका लागि पहल गरिदिन मन्त्री यादवसंग आग्रह गरिएको हो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले छठ पर्वपछि मन्त्रालय र सरकारी कार्यालयहरु खुल्ने भएकाले छठ पर्व लगत्तै भाथाधाममा प्राविधिक टोली पठाएर त्यहाँ आवश्यक पूर्वाधारका बारेमा योजना बनाउन लगाउने प्रतिबद्धता जनाए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा पूर्व मन्त्री तथाअ जसपाका केन्द्रिय सदस्य मोहनलाल चौधरी,पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी र जन्नत अंसारी, वडाध्यक्ष फरमान अन्सारी, जसपाका नेताहरु दीपक यादव, नागेन्द्र यादव, विश्वनाथ महतो थारु,माधव साह, प्रभाकर मिश्रा, मेला समितिका रामेश्वर राउत, द्ववारिका उपाध्याय, गेनालाल पटेल, तेजा पञ्जियार लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शनिवार