
माघ ११रमेश वलि
गीतकार तथा गायक राजेन्द्रकुमार कार्कीलाई राष्ट्रिय संगीतकर्मी संघले ६ महिनाको लागि निलम्बन गरेको छ । राष्ट्रिय संगीतकर्मी संघको आज बसेको कार्य समितिको जरुरी बैठकले निर्वतमान अध्यक्ष राजेन्द्रकुमार कार्कीलाई संस्थाको विधि विधान अनुसार कुनै पनि पदीय दायित्वमा नरहने गरि ६ महिनाको लागि निलम्बन गरेको हो ।
राष्ट्रिय लोक संचारकर्मी नेपालका कोषाध्यक्ष शरण हुमागाई माथि कार्कीले धम्कीपूर्वक ढंगले सामाजिक संजालमा दिईएको अभिव्यक्ति प्रति पनि राष्ट्रिय संगीतकर्मी सघंको ध्यानाकर्षण भएको संघका महासचिव अमृत खातीले विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
‘राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय निवर्तमान अध्यक्ष समेत रहेका गायक राजेन्द्र कुमार कार्कीले मिति २०८०।१०।१० गते रेडियो आहा १०४.५ मेगाहर्जमा कार्यक्रम देउरालीका संचालक शरण हुमागाईंसँग दिइएको अन्तरवार्तालाई लिएर विभिन्न सामाजिक संजालहरुमा आएका टिक्का टिप्पणीहरुलाई राष्ट्रिय संगितकर्मी संघ केन्द्रीय कार्यसमितिले नजिकबाट नियालिरहेको कुरा यहाँहरुलाई जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।
निवर्तमान अध्यक्ष कार्कीले राष्ट्रिय संगीतकर्मी सघं केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुलाई समेत मादक पदार्थ सेवन गरि मध्यरातमा गालीगलौज गर्ने र सामाजिक संजालहरुमा चरित्रहत्या गर्ने जस्ता कार्यहरु गर्नुका साथै गैर जिम्मेवार अभिव्यक्तिहरु दिईएकोले उक्त कार्य संस्थाको हित विपरित भएकोले निलम्बन गरिएको सघं कार्यवाहक अध्यक्ष प्रकाश कटुवालले जानकारी दिए ।