२०८२ बैशाख ५ गते शनिवार

मन्त्री किरातीको अभिव्यक्ति विरुद्ध जनकपुरधाममा प्रदर्शन



पाैस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार दिएको अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको भन्दै जनकपुरधाममा विरोध र्‍यालिको आयोजना गरिएको छ ।

मन्त्री किरातीको अभिव्यक्ति एउटा धर्मलाई मात्र प्रोत्साहन गरेको भन्दै आपत्ति जनाउँदै विश्व हिन्दु परिषदको आयोजनामा र्‍यालि प्रदर्शन गरिएको हो । र्‍यालिमा सहभागिहरुले किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नु पर्नेसहितका माग गरेका छन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैषणवको अगुवाइमा विहीबार आयोजित सो र्‍याली जानकी मन्दिर परिसरबाट प्रारम्भ भइ नगरको विभिन्न भागको परिक्रमा गर्दै जानकी मन्दिरमा आएर विरोधसभामा परिणत भएको थियो ।
मन्त्री किरातीले बुधबार एक कार्यक्रममा क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्रीको उक्त भनाइले एउटा धर्मलाई प्रोत्साहन भएको, सनातन धर्म र अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने हिन्दुवादी अभियन्ताहरुको कथन छ ।

मन्त्रीको भनाइ गैरसंवैधानिक, सामाजिक सद्भाव विथोल्ने, असहिष्णु र विभाजनकारी भएको भन्दै तत्काल बर्खास्त गर्नु पर्ने उत्तराधिकारी महन्त दासले माग गरेका छ्न् । मन्त्री किरातीलाई बर्खास्त नगरिए कडा आन्दोलन गर्ने चेताबनी समेत उनले दिएका छन् ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार