२०८१ असोज २८ गते मङ्गलवार

त्रिवेणीमा १७ औं विश्व रेविज दिवस २०८० को अवसरमा नि:शुल्क खोप तथा अन्तरक्रिया सम्पन्न 



रोल्पा , १० असोज २०८०

रोल्पाको त्रिवेणी गाउँपालिकामा १७ औं विश्व रेविज दिवसका अवसरमा  नि:शुल्क खोप तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । रेबिज सप्ताह कार्यक्रम अन्तर्गत भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाको आयोजना र त्रिवेणी गाउँपालिकाको समन्वयमा  नि:शुल्क खोप तथा अन्तरक्रिया कार्यक्रम  बुधबार जुगारमा सम्पन्न भएको छ ।

कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले पशु तथा मानव स्वास्थ्यसँग संबन्धित यस्ता गोष्ठी तथा अन्तरक्रियाले ठूलो महत्व राख्ने बताउनुभयो । पालिका अध्यक्ष  बाँठाले जनचेतना अत्यन्त महत्वपूर्ण कुरा हो र यसको लागि विषयगत गोष्ठी तथा अन्तरक्रियाले ठूलो भूमिका खेल्ने बताउनु भएको हो ।

उहाँले यस्ता कार्यक्रममा सिकेका कुरा अरुलाई सिकाएनौ वा हस्तान्तरण गरेनौ भने प्रभावकारी नहुने उल्लेख गर्नुभयो । पछिल्लो कालखण्डमा यस्ता तालीमहरु धेरै हुने गर्दछन् र यस्ता तालीम तथा गोष्ठीमा सिकेका कुरालाई सदुपयोग गर्नुपर्ने  पालिका अध्यक्ष  बाँठाले औंल्याउनुभयो ।  हामीले सिकेको सीप र ज्ञान समाजमा लगेर बाँड्न सक्यौं भने बढेर जान्छ र यत्तिकै बस्यौं भने त्यो मरेर जाने भन्दै ज्ञान आदानप्रदान गर्नुपर्ने बताउनुभयो  । घर पालुवा जनावरका साथै मानव स्वास्थ्यसँग सम्बन्धित गोष्ठी तथा तालीमले हाम्रो जीवनमा ठूलो महत्व राख्ने भएकाले सिकेका ज्ञान समाजमा बाँढ्न अध्यक्ष  बाँठाको आग्रह छ ।

कार्यक्रममा रेविज रोगको नियन्त्रण कसरी गर्ने, रेविज लागेको कुकुरलाई कसरी चिन्ने, मानिसमा रेविज लागेमा देखिने लक्ष्यण लगायतका विषयमा सहजिकरण गरिएको थियो । यसका साथै नेपालमा वर्षेनी १ सयको हाराहारीमा रेविजका कारण मानिसको मृत्यु हुने गरेको तथ्याङ् अनुसार नेपाल उच्च जोखिममा रहेको जानकारी गराइएको थियो ।

यसैगरी भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा.शंकर न्यौपानेले घर पालुवा कुकुर विरालोमा हुने रेविज रोग रोकथाम तथा नियन्त्रणमा रेविज सम्ताहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । डा. न्यौपानेले कार्यक्रम मार्फत रेविज विरुद्ध जन चेतना फैलाउनु मुख्य रहेको जानकारी गराउनुभयो । उहाँले सप्ताहव्यापि निःशुल्क रेविज विरुद्धको खोप अभियानमा आ—आफ्ना घरमा पालिएका कुकुर बिरालाहरु ल्याई खोप लगाउनुहुन अनुरोध गर्नुभयो । रेविज संक्रमणबाट बच्न पाल्तु जनावरलाई रेविज विरुद्धको खोप अनिवार्य रहेको प्रमुख न्यौपानेले उल्लेख गर्नुभयो ।

विशेषगरी कुकुरहरुमा लाग्ने रेविज प्राणघातक रोग भएको र यो रोग मानिसमा पनि सर्न सक्ने हुनाले खोप लगाई सुरक्षित रहन डा. न्यौपानेको आग्रह छ ।

साथै भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाको आयोजना र त्रिवेणी गाउँपालिकाको समन्वयमा पालिकाको नेर्पा बजार, धारमखोला गरि  करिब ६०/६५ कुकुरहरुलाई नि:शुल्क खोप पनि लगाइएको छ । 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार