
रोल्पा – विश्व रेबिज दिवस अवसरमा रोल्पाको त्रिवेणी गाउँपालिकाले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । रेबिज सप्ताहअन्तर्गत गाउँपालिकाले ‘एक स्वास्थ्य , एक गन्तव्य ’ नारासहित शुक्रबारदेखि एक सातासम्म रेबिजविरुद्धको निःशुल्क खोप लगाउन सुरु गरेको हो ।
गाउँपालिकामा आयोजित कार्यक्रममा शन्देस मुलक सुचना र नारा सहित बजार परिक्रमा गर्दै रेबिज सप्ताह सुरु भएको हो ।
गाउँपालिकाको पशुपन्छी शाखाका प्राविधिकले पालिकाबासीले ल्याएका कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन थालेको त्रिवेणी गाउँपालिका पशुपन्छी शाखाका प्रमुख मञ्जु वली बताउनुभयो।
हरेक वर्ष सेप्टेम्बर २८ का दिन विश्वभर रेबिजविरुद्धको चेतनामूलक कार्यक्रमसहित विश्व रेबिज दिवस मनाउने गरिएको छ । वलीका अनुसार गाउँपालिकाले हाललाई २ सय डोज भ्याक्सिन तयारी अवस्थामा रहेको र आवश्यकताअनुसार थप व्यवस्थापन गरिने वलीले जानकारी दिनुभयो ।
घरघरमा पुगेर घरपालुवा कुकुरलाई खोप लगाउन नसकिने भन्दै वलीले गाउँपालिकाको पशुपन्छी शाखा तथा सम्बन्धि वडा कार्यालयमा आउन पनि पालिकाबासीलाई आग्रह गर्नुभयो । उहाँले छाडा कुकुरलाई पनि खोप लगाउने योजना रहेको बताउनुभयो।
साथै यहि असोज महिनाको १० गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पा र त्रिवेणी गाउँपालिकाको सहकार्यमा पालिकाको केन्द्र नेर्पा बजारमा रहेका छाडा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम रहेको वली जानकारी दिनुभयो ।